गुणबहादुर रोका
सुलीकोट, पुस २१ गते । नेपाली सेनाले सोमबारदेखि गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु गरेको छ । एकीकरणका प्रतिक पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरिएको पैदलयात्रा हुँदै आज बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाका रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा बजाउँदै हनुमान चौतारबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेंसी पुग्ने उहाँले बताउनुभयो । साँझ कार्यक्रम गरी धादिङको टोलीलाई टर्च र झण्डा दिएर गोरखाको टोली फिर्ता हुने रुद्रध्वज गण गोरखाले जनाएको छ ।
पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा, राष्ट्रिय झण्डा र टर्चसहित नेपाली सेनाका पश्चिम पृतनापति भोलानाथ थापा र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानाले एक कार्यक्रमका बिच झण्डा र टर्च हस्तान्त्ररण गर्नुभएको रुद्रध्वज गण गोरखाले जनाएको छ ।
गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझसम्म काठमाडौँको हनुमानढोका पुर्याइनेछ । २७ गते हनुमानढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मल समारोहमा शार्दूलजंग गुल्मले उक्त टर्च र झण्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ ।
नेपालकै राष्ट्रिय एकताको प्रतीक पृथ्वीनारायण शाह जन्मेको र हुर्केको थलो गोरखा दरबार र समग्र गोरखाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ २०७६ सालबाट नेपाली सेनाले एकीकरण पदयात्रा गर्दै आएको छ ।
गोरखा जिल्लामा रहेका ११ वटै पालिकाको समन्वय तथा गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको विशेष आयोजनामा नेपाली सेनाले गोरखा काठमाडौँ एकीकरण पदयात्रा सुरु गरेको रुद्रध्वज गण गोरखाले जनाएको छ ।