• २२ पुस २०८२, मङ्गलबार

शीतलहरले कष्टकर बन्दै मुसहर समुदायको जनजीवन

blog

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी मुसहर समुदायका स्थानीयलाई फाइवर सिरक वितरण गर्नुहुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, पुस २१ गते ।
लगातारको शीतलहरका कारण सबैभन्दा बढी मुसहर समुदायको जनजीवन कष्टकर बन्दै गइरहेको छ । शीतलहरले दिउँसो कमाएर राति राखे यस समुदायलाई न्यानो लुगा र हातमुख जोड्न समस्या भएको छ ।

नदी किनार छेउ खुल्ला ठाउँमा बसोबास गर्दै आएका यस समुदायमा आइपर्ने समस्या निवारणका लागि स्थानीय सरकारले ध्यान दिइनुपर्ने आवश्यक रहेको दलित अभियानमा लागेका अगुवा मोहन पासवानको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘शीतलहरका कारण मजदुरी गर्न जान सक्ने अवस्था छैन । यहाँ खाद्यान्नसहित राहतको आवश्यक देखिएको छ ।’’

लहान नगरपालिकामाले मुसहर समुदायमा कसैको मृत्यु भएपछि पाँच हजार नगदसहित खाद्यान्न वितरण गर्नु राम्रो हो । तर उपचार, आवास, शिक्षा, स्वास्थ्यका लागि चेतनामुलक कार्यक्रम नहुनु चिन्ताको विषय भएको अर्का दलित अभियानता  बिनोद विसुन्केको भनाइ छ ।

लहान वडा नम्बर १ र २ मा रहेका मुसहर समुदायको तीन सय घर परिवारमा शीतलहरको चपेटामा परेका छन् भने पाँच जनाको मृत्यु भइसकेको छ ।  शीतलहरमा अत्यधिक मदिरा सेवन गर्दा उनीहरुको मृत्यु भएको बुझिएको छ ।  

यस विषयमा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीसँग जिज्ञासा राख्दा शीतलहरबाट जोगाउन पाँच सय फाइवर सिरक वितरण कार्यक्रमअन्तर्गत अधिकांश मुसहर समुदायको बस्ती र डोम बस्तीमा नै वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बजेट अनुसार मुसहर समुदायको उत्थानका लागि आवास शिक्षा स्वास्थ्यका लागि काम गरेका छौँ । मुसहर समुदायमा ४० वर्ष नकाट्दै अत्यधिक मदिरा सेवनबाट भइरहेको मृत्युदर डर लाग्दो छ । यसका लागि शिक्षा चेतनाको कार्यक्रम चाँडै ल्याउने तयारीमा छौँ ।’’