• २२ पुस २०८२, मङ्गलबार

तीन जिल्लाका पालिका प्रमुखको साझा प्रतिबद्धता

blog

चितवन समाचारदाता

चितवन, पुस २१ गते  ।  तीन जिल्लाका स्थानीय तहले एक अर्को स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवनको कालिका नगरपालिकाले पूर्वी चितवनको पदमपुरमा आयोजना गरेको समन्वयात्मक बैठकमा चितवन, धादिङ र मकवानपुर गरी तीन जिल्लाका नौ वटा स्थानीय पालिका प्रमुखले एकै प्रकारका समस्यासँग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उस्तै प्रकृतिका मुद्दालाई एकसाथ उठाउने, सङ्घ र प्रदेश सरकारसँग बजेट विनियोजनका लागि जोडदार माग गरी कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने, अर्को पालिकासँग जोडिने गरी विकासका पूर्वाधार निर्माण गर्नेलगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ । बैठकको आयोजना गर्ने कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले चेपाङ तथा सीमान्तकृत जातिका बालबालिकाको शिक्षा र अधिकारका विषयमा सबै मिलेर काम गर्ने सहमति भएको जानकारी दिनुभयो । 

बैठकमा सहभागी पालिका प्रमुख तथा प्रतिनिधिले चेपाङ तथा सीमान्तकृत वर्गका बालबालिकाको शिक्षा, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने, त्रिशूली नदीको पानी डाइभर्सन गरी पूर्वी चितवनमा ल्याउनुपर्ने, चितवनका सातै पालिकासहित धादिङ, मकवानपुर जिल्लाका छिमेकी पालिकालाई जोड्ने गरी चव्रmपथ निर्माण गर्नुपर्नेलगायतका विषयमा सहमति भएको हो । 

चितवनको खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि सबै प्रव्रिmया पूरा भएर पनि काम अगाडि नबढ्दा प्रदेशकै आर्थिक क्षेत्रमा प्रभाव पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ औद्योगिक क्षेत्र निर्माण हुँदा एकै स्थानमा १७० वटा उद्योग स्थापना हुन्छन् । जसले गर्दा चितवन मात्र नभई बागमती प्रदेश र छिमेकी प्रदेशको समेत आर्थिक विकासमा योगदान पुग्न मद्दत गर्दछ ।” औद्योगिक क्षेत्र निर्माणमा दबाब दिनका लागि सबै पालिकाको एकसाथ सहयोग भएमा निर्माणले गति लिन सक्ने बताउनुभयो । 

चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङ बालबालिकाको शिक्षा र स्वास्थ्यका विषयमा पालिकाले काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले सबै पालिकाले साथ दिएमा उनीहरूलाई निःशुल्क आवास र शिक्षाको व्यवस्था गर्न सकिने बताउनुभयो । सङ्घ र प्रदेशको बजेटको आशा मात्र नगरी पालिका आफैँले आम्दानीको स्रोत खोजेर सिर्जनात्मक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले केन्द्रका नेताको पहुँचका आधारमा बजेट ल्याउने र साना काम गरेर लोकप्रियता कमाउने मात्र काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन वृद्धि नगरी स्थानीयको आर्थिक अवस्थामा सुधार हँुदैन । आर्थिक सुधार गर्न त्रिशूली नदीको पानी डाइभर्सन गरी पूर्वी चितवन र पश्चिम मकवानपुरमा सिँचाइ गरी उत्पादन वृद्धि गर्न सकिन्छ ।” 

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सीमान्तकृत बालबालिकाको शिक्षाका लागि महानगरले समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । “उनीहरूको शिक्षा, स्वास्थ्य, आवास सबै निःशुल्क गर्नका लागि हामी तयार छौँ । सबै पालिकाले लगानी गरेर सबै सीमान्तकृत बालबालिकाको जिम्मा लिनु पर्छ । यस जिल्लाको समग्र विकास भनेको उत्पादन हो,” उहाँले भन्नुभयो, “त्रिशूलीको पानी शक्तिखोर हुँदै चितवन ल्याएर सिँचाइमा प्रयोग गर्न आवश्यक छ ।” 

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सबै पालिका मिलेर संयुक्त रूपमा काम गरेमा धेरै समस्या समाधान हुने बताउनुभयो । यस्तो प्रकारको बैठक र निर्णयले छिटो विकास हुनेमा विश्वास जागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनअपेक्षा अनुसार नतिजा हासिल गर्न निरन्तर खबरदारी गर्न आवश्यक हुन्छ । कतिपय काम संयुक्त रूपमा गर्दा व्ययभार कम हुनुका साथै कामले गति लिन्छ ।”

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले सीमान्तकृत बालबालिकाले आफ्नै परिवारसँग बसेर पढ्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कार, संस्कृति र पहिचान जोगाउन परिवारसँगै अध्ययन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, राक्सीराङ गाउँपालिका प्रमुख, बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले साझा समस्यालाई एक भएर सङ्घ र प्रदेश सरकारलाई दबाब दिन सके बजेट निकासामा प्रभाव पर्ने निर्णय गरेका छन् ।  

तीन महिनापछि भएको प्रगतिका विषयमा पुनः सामूहिक छलफल गरी थप निर्णय गर्ने तयारी भएको छ । आउँदो तीन महिनामा रत्ननगर नगरपालिकाले बैठक आयोजना गरी थप समस्या र प्रगतिबारे छलफल गर्ने निर्णय भएको छ ।