सिराज खान
नेपालगन्ज, पुस २१ गते । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा गत दस दिनदेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ ।
दस दिन अघि अस्पतालका रेडियोलोजिस्ट डा. ठाकुर कोइरालाले राजीनामा दिएर काठमाडौँ फर्किएपछि अर्को रेडियोलोजिस्ट नपठाइएकाले भिडियो एक्सरे सेवा ठप्प भएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जनाएको छ ।
क्यान्सरको उपचारका लागि अति आवश्यक मानिने प्रारम्भिक परीक्षण भिडियो एक्सरेनै बन्द भएपछि सो अस्पतालमा आएका बिरामीहरुलाई समस्या परेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलले बताउनुभयो ।
उहाँले एक्कासी अस्पतालका रेडियोलोजिस्ट डा. कोइरालाले राजीनामा दिएर गएपछि अर्को व्यवस्था गर्न नसकिएकाले बिरामीलाई सो सेवा प्रदान गर्न नसकिएको बताउनुभयो ।
यसअघि लामो समयसम्म पार्टटाइम ज्यालादारीमा सञ्चालन गरिएको भिडियो एक्सरे सेवा एक वर्षअघि डा. कोइराला आएपछि पूर्णरुपमा सञ्चालनमा आएको थियो । तर, अहिले उहाँले नै छोडेर गएपछि एक्सरे सेवा ठप्प भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.पौडेलले तत्काल अर्का रेडियोलोजिस्ट पठाउन मन्त्रालयमा पटक पटक आग्रह गरेको जनाउँदै हालसम्म पनि नपठाइएकाले समस्या बढ्दै गएको बताउनुभयो ।
स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्न खोज्दा अस्पताल विकास समितिनै पूर्ण नभएको हुँदा सो बारे विज्ञापन गर्न नसकिएको अस्पतालले जनाएको छ ।
उता, सो अस्पतालमा विभिन्न जिल्लाबाट उपचारका लागि आउनुभएका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई भिडियो एक्सरे गराउन नेपालगन्ज जानुपर्ने बाध्यता भएकोले उहाँहरुलाई ठुलो समस्या भएको बिरामीले जनाउनुभएको छ ।
बर्दिया राजापुरबाट आउनु भएका एकजना बिरामीका आफन्त रमेश थारुले अस्पतालमा भिडियो एक्सेर नहुँदा बाध्य भएर नेपालगन्ज गइ मँहगो शुल्क तिरेर एक्सरे गएको गुनासो गर्नुभयो ।
सो अस्पतालमा दैनिक १५ देखि २० जनासम्म बिरामीको भिडियो एक्सरे हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा आउने बिरामी, उनका आफन्त तथा स्थानीयले समेत त्यहाँ तत्काल रेडियोलोजिस्टको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
यसअघि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्वास्थ्य सचिवबाट एक महिना भित्र मन्त्रालयबाट रेडियोलोजिस्ट पठाउने भनिए पनि करिव पाँच महिनापछि मात्र डा. कोइराला क्यान्सर अस्पतालमा आउनुभएको थियो ।
खजुरा क्यान्सर अस्पतालले लुम्बिनीसँगै कर्णाली र सुदूरपश्चिमसम्मका क्यान्सरका बिरामीहरुलाई सेवा दिँदै आएको छ । यसअघि भरतपुर काठमाडौँ र भारतको नयाँदिल्ल पुग्न बाध्य यस क्षेत्रका क्यान्सरका बिरामीहरुलाई यो अस्पताल सञ्चालनपछि निकै सहज बनेको छ ।
२०७२ सालमा सङ्घीय सरकारले स्थानीयबाट स्वामित्व ग्रहण गरेको सो अस्पतालमा हालसम्म पनि शून्य दरबन्दीमा सेवा प्रवाह हुँदै आएको छ ।