• २२ पुस २०८२, मङ्गलबार

भेनेजुयलामा राजनीतिक उथलपुथल, मादुरो अमेरिकी नियन्त्रणमा

blog

कोलम्बिया–भेनेजुयला सीमामा आयोजित र्‍यालीका क्रममा एक भेनेजुयलाली मोटरसाइकल चालकले भेनेजुयलाको झण्डा फहराउँदै । फोटो: जायर एफ. कोल/गेट्टी इमेजेज

  • पछिल्लो घटनाक्रमपछि भेनेजुयलाभित्र तथा विदेशमा रहेका भेनेजुयलाली नागरिकहरूबिच मिश्रित प्रतिक्रिया देखिएको छ । कोलम्बियाको कुकुता सहरमा भेनेजुयलाली नागरिकहरू सडकमा भेला भएर नाचगान गर्दै ‘स्वतन्त्र भेनेजुयला’को नारा लगाएको सिएनएनले बताएको छ । त्यहाँ उपस्थित एक भेनेजुयलाली युवाले लामो समयको अन्धकार अन्त्य हुने आशा पलाएको बताउनु भएको छ ।
  • त्यस्तै, पूर्वी भेनेजुयलाबाट आएका एक वृद्ध नागरिकले तानाशाहीबाट मुक्ति मिलेको अनुभूति भएको बताउनु भयो । अब रोजगारीको खोजीमा विदेश गएका नागरिक स्वदेश फर्किने र परिवार पुनः एकजुट हुने आशा रहेको उहाँको भनाइ छ ।

    काठमाडौँ, पुस २० गते । भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरो अमेरिकी नियन्त्रणमा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार शनिबार भेनेजुयलामा भएको अमेरिकी आक्रमणपछि पक्राउ परेका मादुरोलाई न्युयोर्कस्थित ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । अमेरिकी अधिकारीहरूले मादुरोमाथि लागु औषध तथा हतियारसम्बन्धी अभियोग लगाइने बताएका छन् ।

मादुरो पक्राउ परेपछि भेनेजुयलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको अधिकार र जिम्मेवारी सम्हाल्न निर्देशन दिएको सिएनएनले जनाएको छ । यसैबिच विपक्षी नेतृ मारिया कोरिना माचादोले विपक्षी पक्षबाट कार्यवाहक नेतृत्व स्थापित गर्नु पर्ने बताउनु भएको छ ।


भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया।  तस्बिर अलजजिरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा ‘समुचित राजनीतिक सङ्क्रमण’ नहुँदासम्म संयुक्त राज्य अमेरिकाले देश सञ्चालन गर्ने बताउनु भएको छ । उहाँले भेनेजुयलाका विशाल तेल भण्डार अमेरिकाले नियन्त्रणमा लिने दाबी पनि गर्नु भएको सिएनएनले उल्लेख गरेको छ ।

पछिल्लो घटनाक्रमपछि भेनेजुयलाभित्र तथा विदेशमा रहेका भेनेजुयलाली नागरिकहरूबिच मिश्रित प्रतिक्रिया देखिएको छ । कोलम्बियाको कुकुता सहरमा भेनेजुयलाली नागरिकहरू सडकमा भेला भएर नाचगान गर्दै ‘स्वतन्त्र भेनेजुयला’को नारा लगाएको सिएनएनले बताएको छ । त्यहाँ उपस्थित एक भेनेजुयलाली युवाले लामो समयको अन्धकार अन्त्य हुने आशा पलाएको बताउनु भएको छ ।

त्यस्तै, पूर्वी भेनेजुयलाबाट आएका एक वृद्ध नागरिकले तानाशाहीबाट मुक्ति मिलेको अनुभूति भएको बताउनु भयो । अब रोजगारीको खोजीमा विदेश गएका नागरिक स्वदेश फर्किने र परिवार पुनः एकजुट हुने आशा रहेको उहाँको भनाइ छ ।

तर केही समूहले मादुरोको पक्राउलाई ‘अपहरण’को संज्ञा दिँदै अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् । मादुरो अनुपस्थित भएपछि देशभर अन्योल बढेको र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु खरिद गर्न नागरिक लामो लाइनमा उभिन बाध्य भएको सिएनएनले जनाएको छ ।

यसैबिच, सुरक्षा कारणले बन्द गरिएको क्यारिबियन हवाई क्षेत्र आइतबार मध्यरातदेखि पुनः खुल्ने बताइएको छ । केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले आइतबारदेखि उडान पुनः सुरु गर्ने तयारी गरेको जनाइएको छ ।

भेनेजुयलाको पछिल्लो घटनाक्रमले ल्याटिन अमेरिकी क्षेत्र मात्र होइन, विश्व राजनीतिमा पनि गहिरो प्रभाव पार्ने विश्लेषण गरिएको छ । सिएनएन