• १९ पुस २०८२, शनिबार

उपत्यकामा व्यवस्थित सहरी योजना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १९ गते । काठमाडौँ उपत्यकाका नगरपालिकाले सहरी सौन्दर्य कायम राख्दै व्यवस्थित सहर निर्माणलाई तीव्रता दिएका छन् । काठमाडौँ उपत्यकाको मौलिक कला, सम्पदा र संस्कृतिलाई कायम राख्दै उपत्यकाका नगरपालिकाले व्यवस्थित सहरीकरणलाई तीव्रता दिएका हुन् । स्थानीय तहको पहिलो निर्वाचनपछि उपत्यकाका नगरपालिकाले सहरी विकास रणनीति, भूउपयोग मापदण्ड, भवन निर्माण, प्राचीन स्मारक क्षेत्रको संरक्षण, पूर्वाधार विकास, सहरी गरिबी न्यूनीकरणका योजना निर्माणलाई तीव्रता दिएका हुन् । 

त्यस्तै स्थानीय नागरिकको आर्थिक विकास, सहरी पर्यावरण तथा सरसफाइ, विपत् तथा सङ्क्रमण रोग व्यवस्थापन, वित्त व्यवस्थापन, लगानी तथा स्रोत परिचालनलगायतका सूचक समावेश गरी व्यवस्थित सहरी योजना निर्माणको कार्य भइरहेका छन् । 

२०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएसँगै उपत्यकाका नगरपालिकाले व्यवस्थित सहरी योजना कार्यान्वयन गर्न थालेका हुन् । स्थानीय तहको निर्वाचन भएको करिब नौ वर्षको अवधिमा उपत्यकाका सहरी सौन्दर्य र पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेका छन् । 

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले सम्पदा र संस्कृतिको सहरलाई हरियाली प्रवर्धन गरेर सहरी सौन्दर्य कायम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि नागरिकले महानगर क्षेत्र प्रवेश गर्दा दिउँसो हरियाली र साँझ झिलिमिली बत्तीबाट स्वागत पाउने गरेका छन् । सरसफाइलाई उच्च प्राथमिकता दिएका छौँ ।” 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले भौतिक पूर्वाधार निर्माण गर्दा नै वातावरणीय प्रभाव र सहरी सौन्दर्यलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माण भइरहेको बताउनुभयो । सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले सहरी कृषि, वन र जलवायु, जलस्रोत र नवीकरणीय ऊर्जा र स्थानीय संस्कृतिलाई आत्मसात् गर्दै सहरी सौन्दर्य कायम राखिएको बताउनुभयो । नगरपालिकाले दिगो विकासका लक्ष्य, सहरी पर्यटन, सूचना र प्रविधि, योजना, पूर्वाधार तथा सहरी यातायातलाई व्यवस्थित गर्दै आएको छ । 

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सीमित साधनस्रोतबाट पनि सहरी सौन्दर्यको मर्म नमेटिने गरी नगरपालिकाले यस अवधिमा, सडक, पुल, खानेपानी, ड्रेन, सामुदायिक भवनको नवनिर्माण र पुनर्निर्माण भएको बताउनुभयो । अधिकारीले थप्नुभयो, “नगर क्षेत्रका ठाउँ ठाउँमा सम्पदायुक्त पाटी, मठमन्दिर, पार्क निर्माणले नगरपालिकाको सौन्दर्य उजागर गरेको छ ।”  

सङ्घीय कार्यान्वयनमा आएसँगै सिंहदरबारमा केन्द्रित अधिकार र स्रोतसाधन स्थानीय तहसम्म पुगेका छन् । सहरी विकास तथा भवन निर्माण विभागले पनि नगरपालिकालाई व्यवस्थित सहरी योजना बनाउन विभागले सहरी विकास रणनीति निर्माण गरी स्थानीय तहलाई सहयोग पु¥याउँदै आएको छ ।