• ८ मंसिर २०८१, शनिबार

मौसम पूर्वानुमानमा बेखबर कृषि

blog

नेपाल कृषि प्रधान देश हो । अहिले पनि कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा ज्यादा मानिस कृषिमै निर्भर छन् । कुल गार्हस्थ्य उत्पादनमा आज पनि रेमिट्यान्सपछि कृषि क्षेत्रकै योगदान (२३.९५ प्रतिशत) बढी छ । कुनै बेला अर्थतन्त्रमा सबैभन्दा बढी टेवा दिएको कृषि क्षेत्र विगत दुई दशकयता खुम्चँदै आएको छ । जीडीपीमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । खासगरी श्रम गर्न सक्ने युवाशक्ति विदेशिने क्रम बढेसँगै क्रमशः कृषि उत्पादन घट्नु स्वाभाविक हो ।

कृषि क्षेत्रमा एकातिर उत्पादन बढाउनु पर्ने, लगानी बढाउनु पर्ने तथा व्यावसायिक बनाउनु पर्ने बहसहरू चलिरहेका छन् । अर्कोतिर श्रम गर्न सक्ने जति जनशक्ति विदेश पलायन भइरहेका छन् । फलत कृषिको व्यावसायिकरण र लगानी अभिवृद्धिका कुरा फगत बजार हल्ला मात्रै भइरहेका छन् । स्वदेशमै रहेका, अलिकति पढेलेखेका जनशक्तिलाई समेत कृषि पेसमा आकर्षित गराउन सकिएको छैन । तसर्थ पनि कृषि उत्पादन बढ्न सकेको छैन । 

कृषि उपजहरूको माग भने बढिरहेको छ । देश कृषिमा धेरै नै परनिर्भर हुन थालिसकेको छ । वार्षिक साँढे तीन खर्ब ज्यादाको कृषिजन्य वस्तुको आयात छिमेकी देशहरूबाट हुन थलेको छ । कृषिप्रधान मुलुकमै कृषि उपजमा पूरै परनिर्भर हुनुपर्ने अवस्थाले गिज्याइरहेको छ ।

त्यसकारण कृषिमा आमूल परिवर्तन हुन जरुरी छ । त्यो परिवर्तन प्राविधिक हिसाबले, विज्ञानको हिसाबले र जनशक्ति परिचालनको हिसाबले हुन जरुरी छ । पुरानै ढर्रा र शैलीबाट गरिने कृषिबाट अब नेपाल कृषिमा आत्मनिर्भर हुन सक्दैन । अहिले पनि कुल कृषियोग्य जमिनमध्ये लगभग ५० प्रतिशत कृषियोग्य भूभाग बाँझो रहेको तथ्याङ्क छ । कृषि गर्न सक्ने जनशक्ति विदेश पलायन भएको अवस्था छ । 

खाासगरी आज पनि नेपालमा परम्परागत शैलीबाटै धेरैजसो कृषि कर्म भइरहेका छन् । सिँचाइ तथा मल अभावको पीडा त छँदैछ, मौसम पूर्वानुमानको यकिन सञ्चार गर्न नसकिँदा कृषि बाली लगाउन तथा त्यसको सुरक्षित भण्डारणमा समस्याहरू आइरहेका छन् । जस्तो कि सरकारले पछिल्लो वर्ष जल तथा मौसम विज्ञान विभागलाई अलिक बढी आधुनिक बनाएको छ । मौसम विभागले पूर्वानुमान गरेबमोजिम लगभग मिल्ने पनि गरेका छन् तर किसान वर्गले मौसम विभागले पूर्वानुमान गरेअनुसारको कुरा बेलैमा थाहा पाउने हुनुप-यो । त्यसका लागि सरकारले आवश्यक उपाय अवलम्बन गर्न जरुरी देखिन्छ । कृषि उत्पादन बढाउन फगत नीतिगत कुरा गरेर अथवा केही अर्ब बजेट छुट्याएर मात्रै हुँदैन । प्राविधिक हिसाबले पनि जनतालाई अभिमुखीकरण गर्न, कृषि सूचना र सीप विस्तार गर्न सक्नुपर्छ ।

खासगरी नेपालजस्तो विकट भौगोलिक अवस्थाको देशमा कृषि उत्पादन वृद्धि गर्न मौसम पूर्वानुमानको उल्लेख्य भूमिका रहन सक्छ । नेपालका धेरैजसो पहाडी भेगहरू सिँचाइ सुविधाबाट विमुख छन् । त्यस्तो भूगोलमा आकाशे पानीको भरमा कृषि निर्भर रहन्छ । मौसम पूर्वानुमानलाई ध्यान दिँदा आवश्यक तयारी गरेर पानी पर्ना साथ बाली लगाउन सकिन्छ । भिœयाउँदा पनि मौसमको अवस्था हेरेर भिœयाउन सकिन्छ । तर कृषि मन्त्रालयले त्यसतर्फ यथेष्ट भूमिका खेल्न सकेको देखिँदैन । जस्तो कि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एक थान ‘कृषि मौसम सल्लाह बुलेटिन’ त निकालिरहेका हुन्छन् तर त्यो बुलेटिनमा राखिएका कृषि मौसम सल्लाह वास्तविक किसान वर्गसम्म नै पुग्दैन । 

त्यसकारण मिडियाहरूसँग पनि सहकार्य गरेर कृषि सूचना र कृषि मौसम सल्लाह वास्तविक किसान वर्गसम्म पु-याउन जरुरी देखिन्छ । त्यसो गर्न सकिँदा केही हदसम्म कृषि उत्पादन बढ्न सक्छ । जस्तो कि नेपालमा सधैँजसो चैत वैशाख महिनामा बोइलर कुखुराहरूमा ब्लर्डफ्लु रोग देखिइरहेको हुन्छ । त्यो देखिना साथ भए–भरका कुखुरा नष्ट गरिने गरिएको छ । समाचारहरूमा त्यो आइरहेका छन् । यसरी बारम्बार बर्सेनि एउटै समयमा देखा पर्ने त्यस्तो रोग कसरी नियन्त्रण गर्न सकिन्छ, अथवा त्यो समयमा कुखुरापालन नगर्न पो सुझाव दिने हो कि ? त्यसतर्फ पनि कृषि मन्त्रालयले ध्यान जानु जरुरी छ ।

कृषि उत्पादनका लागि मौसम पूर्वानुमानको महìव उज्जागर गर्ने अर्को एउटा उदाहरण यहाँ उपयुक्त होला । जस्तो कि दुई वर्षअघि कृषकले धान भिœयाउने कात्तिक महिनामा मौसम पूर्वानुमानको ख्यालै नगरी भएभरको धान काटे । देशका धेरैजसो धानबाली लगाउने भेगहरूमा त्यसरी धान काटिए ।

तर मौसम पूर्वानुमान गरिएअनुसार लगातार पाँच दिनसम्म मुसलधारे झरि परेपछि किसानका धान खेतमै डुबे, कुहिए । सो वर्ष किसानले ठूलो मात्रामा क्षति बेहोर्नुप¥यो । फलेकै धान पनि किसानको भकारीसम्म पुगेन खेतमै कुहियो तर राज्यले किसानलाई राहत दिन सकेन । यति हुँदाहुँदै पनि मौसम पूर्वानुमानको हिसाबले कृषकलाई जागृत गर्नु राज्यको दायित्व हुन्थ्यो । त्यो दायित्व पनि सरकारले पूरा गर्न सकेको देखिएन । 

मौसम पूर्वानुमान किसान वर्गसम्म यथोचित रूपमा सञ्चार नहुँदा हरेक वर्ष किसानले ठूलो क्षति बेहोर्दै आएका छन् । कहिले हावाहुरीले केराखेती लडाएका, त कहिले लामो समयसम्म पानी नपर्दा कृषक कृषिप्रति उदासीन छन् । मल, बीउ, बजार भाउ र कृषि गर्नेहरूको सम्मान यो देशमा कत्ति पनि छैन । कृषकले बीउ, प्रविधि, मल, बजार भाउ, कर्जा पाउने अवस्था नै छैन । न त मौसमसम्बन्धी सूचना पाउने नै अवस्था छ । यस क्षेत्रबाट नयाँ पुस्ता त धेरै हदसम्म टाढा भइसकेको छ । पुराना र बूढाहरूको भरमा कृषि थामिएको देखिन्छ । 

सरकारले कुन क्षेत्रमा कुन समयमा पानी पर्दैछ, कति दिनसम्म पर्दैछ, कहिलेदेखि पानी पर्दैछ, कहिले पर्दैन आदि जस्ता जलसम्बन्धी मौसम पूर्वानुमानको कृषकसम्म यथेष्ट सञ्चार गराउन सक्नुपर्छ । पुशपालनको सन्दर्भमा कुन समयमा के कस्ता खालका रोगव्याधिका समस्याहरू आउन सक्छन् ती समयमा किसानले कस्ता कस्ता खालका तयारी र सुरक्षाका उपाय अवलम्बन गर्न जरुरी हुन्छ । 

वातावरणीय हिसाबले कुन क्षेत्रमा कस्ता कस्ता कृषि वस्तुहरू लगाउनु उपयुक्त हुन्छ भन्ने जस्ता अति जानकारीमूलक कुरामा बेलैमा सञ्चार गराउन आवश्यक हुन्छ । त्यति गर्दा मात्रै पनि किसानहरूले बेलैमा बाली लगाउन सक्दछन् बेलैमा बाली भिœयाउन सक्छन् । भैपरी आउने क्षतिलाई कम गर्दा उनीहरूमा अलिकति भए पनि उत्साह भरिन्छ । कृषि उत्पादन बढाउन सकिँदा मात्रै मुलुकको अर्थतन्त्र सबल हुने अवस्थाको सिर्जना हुनेछ । तसर्थ, सरकारले कृषि उत्पादन बढाउन किसान जागरण र प्रविधिको प्रयोग गर्न आवश्यक छ ।