जाजरकोट, पुस १६ गते । जाजरकोटमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अवैध भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्दबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह रहेका छन् ।
प्रचण्डदेव सिंहसहित छ जना पुस १३ गते बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जङ्गलमा सिकार खेल्न गएको अवस्थामा बन्दुकको गोली लागी सिंहको जङ्गलमै शङ्कास्पद मृत्यु भएको थियो ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा खटिएको टोलीले तीन थान भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट तीन नाल भरुवा बन्दुक, सेतो प्लाष्टिकको डिब्बामा राखिएको १३५.१८ ग्राम कालो धुलो पदार्थ (बारुद जस्तो देखिने), भरुवा बन्दुकमा प्रयोग हुने फलामजस्ता धातुका २१ थान टुक्रा तथा रातो प्लाष्टिकको डिब्बामा राखिएका भरुवा बन्दुकमा प्रयोग हुने केक ११ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताउनुभयो ।
घटनासम्बन्धमा कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी शर्माले जानकारी दिनुभयो ।
प्रहरीले अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको जनाएको छ ।