• १६ भदौ २०८१, आइतबार

फलेवास नगरपालिकाको बजेट पारित

blog

फलेवास नगरपालिकाको नगरसभा सञ्चालन गरिँदै । तस्बिर : गोरखापत्र

गणेश पौडेल

पर्वत, असार २७ गते । दलहरुबीच सहमती जुट्न नसक्दा रोकिएको फलेवास नगरपालिकाको नगर सभा आईतबार राती मात्रै सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट नीति तथा कार्यक्रम पारित गरेको छ । 

सभामा नगरप्रमुख गंगाधर तिवारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख शोभाकुमारी क्षेत्रीले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट ध्वनी मतले पारित गरेको हो । नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट १ अर्ब ५ करोड ५८ लाख १ हजार रुपैयाँ रहेको छ । 

बजेटमा चालुतर्फ४३ करोड ८ लाख ८ हजार, सामाजिक सुरक्षातर्फ १५ करोड र पूजिँगततर्फ ४७ करोड ४९ लाख ९३ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । नगरसभाले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन जस्ता कार्यक्रमलाई महत्व दिएको छ । साथै अघिल्लो कार्यकालमा शुरु भएका नगरका गौरवका आयोजनालाई यो कार्याकालमा पनि निरन्तरता दिने गरि बजेट बिनियोजन गरिएको नगर प्रमुख तिवारीले बताउनुभयो । 

फलेवास नगरपालिकाले यूवालाई रोजगारी सृजना, कृषिको आधुनिकिकरण, स्वास्थ्य चौकीको सेवामा सुधार, सामूदायिक क्याम्पस र विद्यालयको शैक्षिकस्तर उकास्ने कार्यक्रम समेत तय गरेको छ । सभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन विधेयक २०७९ पनि सभाबाट पारित भएका छन् । 

फलेवासका ११ वटै वडाका सडक कालोपत्रे तथा ग्राभेल गरि पाँच वर्ष भित्र स्तरउन्नती गर्ने, नगरवस सेवा सञ्चालन गर्ने, कालीगण्डकी वहुउदेश्यिय परियोजनाको पूर्णता, आगामी वर्षसम्म प्रसासनिक भवन निर्माणको काम सम्पन्न गर्ने कार्यक्रम प्राथमिकतामा रहेको छ ।