नवीनराज कुइँकेल
लमजुङ, कात्तिक २० गते । गत साता भएको झरीले लमजुङमा ३१२ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र लमजुङले गरेको तथ्याङ्क संकलनबाट जिल्लामा ३१२ दशमलव पाँच क्षेत्रफलमा लगाइएको धानबाली झरीबाट क्षति पुगेको पाइएको हो ।
ज्ञान केन्द्रका अनुसार जिल्लामा कुल गरिएको धानखेतीमा तीन दशमलब ४७ प्रतिशत धानबाली झरीबाट क्षति पुगेको छ । मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । मध्यनेपालमा सत्रसय, राइनसमा सत्रसय, सुन्दर बजारमा पन्ध्रसय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा झरीले क्षति पुगेको छ ।
यसैगरी बेसीसहर नगरपालिकामा छसय, मस्र्याङ्दी गाउँपालिकामा तीनसय, दोर्दी गाउँपालिकामा दुईसय पचास, क्ब्होँलासोथार र दुधपोखरी गाउँपालिकामा एकसय–एकसय रोपनी क्षेत्रफलको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले जानकारी दिनुभयो ।
जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ६ हजार दुईसय पचास रोपनी (१३ दशमलब ५ हेक्टर) क्षेत्रफलको धान झरीले नोक्सान बनाएको खतिवडाले बताउनुभयो । गत साता बंगालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको कारण झरी पर्दा काटेको धान खेतमै डुबाएको थियो ।
उन्नत जातका धान पाकेर पहेँलपुर भए पनि स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि खेतमै भिजेको थियो । बर्षाले पाकेको धान झार्ने र काटेको धान विगार्ने भएपछि किसानहरु समस्यामा परेका थिए ।
लगातारको झरीले धान डुवाएपछि कृषि ज्ञान केन्द्रले आठवटै पालिकाका कृषि शाखामार्फत क्षतिको विवरण संकलन गरेको थियो । क्षतिको विवरण संकलन गरिए पनि पीडित किसानलाई राहतको ब्यवस्था के हुने भन्ने अन्योल छ । क्षतिको विवरण पठाएपछि प्रदेश या संघ सरकारबाट राहतको ब्यवस्था हुनसक्ने ज्ञान केन्द्रले जनाएको छ ।
सामन्यतः मंसिर महिनामा धान थन्काउने गरिए पनि पछिल्लो समय उन्नत तथा बर्णशंकर जातका धान लगाउँदा छिटो पाकेका कारण मौसम प्रतिकुल हुँदा किसानलाई समस्या परेको कृषि प्राविधिकहरु बताउँछन् । यस वर्ष मौसमले साथ दिएका कारण लमजुङमा धान उत्पादन बढ्ने अनुमान गरिए पनि थन्काउने बेलामा भएको बर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।