• १६ पुस २०८२, बुधबार

गोरखापत्रकर्मी खान सम्मानित

blog

नेपालगन्ज (गोरखापत्र), पुस १६ गते । गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपालका सात जना साहित्यकार र पत्रकारलाई भारतको लखनउमा सम्मान गरिएको छ । ‘बज्म ए पैकर हापुडी लखनउ’ नामक संस्थाले भारत उत्तर प्रदेशको राजधानी लखनउमा आयोजना गरेको अन्तर्राष्ट्रिय मुसायरा, कवि सम्मेलन र स्रष्टा सम्मान कार्यव्रmममा उहाँहरूलाई सम्मान गरिएको हो । 

पत्रकारितामार्फत नेपाल र भारतको साहित्यको विकासमा लामो समयसम्म अहं भूमिका निर्वाह गरेको भन्दै खानलाई भारतका वरिष्ठ साहित्यकार स्वर्गीय शरार बिलरामीको नाममा रहेको ‘शरार बिलरामी’ सम्मानबाट सम्माानित गरिएको हो । बाँकेका प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना, भेरी साहित्य समाजका केन्द्रीय कोषाध्यक्ष डा. राजकुमार थारू, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, कल्पना फाउन्डेसनका कल्पना पौडेल जिज्ञासु र ऋषिराम सापकोटा तथा पूर्णतारा फाउन्डेसनकी अध्यक्ष तारा रोकाया पनि सम्मानित हुनुभएको थियो । ‘बज्म ए पैकर हापुडी लखनउ’ का संस्थापक अतिक कासगन्जवी, भारतीय सांस्कृतिक सहयोग एवं मैत्री सङ्घ उत्तर प्रदेशका अध्यक्ष सारिक रब्बानी र लेखक सङ्घ नेपालका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिनाले सम्मानितहरूलाई सम्मानपत्र, मेडल र भारतीय झन्डाको प्रतीक प्रदान गरेर सम्मानित गर्नुभएको हो ।