• ७ जेठ २०८१, सोमबार

बैंकमा कर्मचारी अभावले सर्वसाधरणलाई सास्ती

blog

पाल्पाको सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन सर्वसाधरणको भिड । तस्बिर : गोरखापत्र

बिन्दु थापा 

तानसेन, असार २७ गते । पाल्पाको सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा प्रयाप्त कर्मचारी नहुदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ । चेक साट्ने, भौचर भर्ने, पेन्सन बुझ्ने ,खाता खोल्ने जस्ता काम काजका लागि बैंकमा पुग्ने सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकेको गुनासो गरेका छन् । 

यहाँ पाल्प जिल्ला भित्रबाट मात्र होइन, अन्य जिल्लाबाट पनि सेवाग्राही आउने गरेका छन् । बैंकमा चेक साट्न पटकपटक आएका सुरेस बोहोराले टोकन सिस्टम भएको र बस्ने व्यवस्था समेत नहुँदाअस्तव्यस्थ तरिकाले सेवा लिन बाध्य भएको बताउनुभयो । ‘बैंकले लापरवाही गरेर जनतालाई दुःख दिने काम गरेको छ । शुक्रबार देखि चेक साट्न आएपनि भिडभाडको कारण चेक नै नसाँटी फर्किन बाध्य भएँ,’ बोहोराले गुनेसो गर्नुभयो । 

स्थानीय तहमा विकास निमार्णका कामहरु भइरहेका छन् । बैंक व्यवस्थापनका लागी लाखौं रकम खर्चिएको छ । तर बृद्ध बद्धा, बच्चा बोकेका महिला, फरक क्षमता भएका र बिरामीको लागी छुट्टै किसिमको सेवा सुविधा उपलब्ध गराउन नसकेको र व्यवस्थापन पक्ष व्यवस्थित गर्न नसकेको सेवाग्राहीको गुनासो छ । बैंकमा पैसा जम्मा गर्न आउनुभएकी राधिका पाठकले सरकारी कार्यालयमा सर्वसाधरणलाई सहज रुपमा काम गरिदिनु पर्नेमा सँधै दुःख भोग्नु परेको बताउनुभयो ।

यस्तै स्याङ्जाको कालिगण्डकी ३ सटुकाबाट बैंकमा खाता खोल्न २२ महिनाको बच्चा काखमा च्यापेर आउनुभएकी बिन्दु चापागाईले लाइनमा चार घण्टा बस्दा समेत पालो नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चाले रोएको छ तर कसैले तपाइ पहिला काम गर्नु भन्दैन । न बस्ने ठाउँ छ, न समयमा काम हुन्छ । बच्चा हुने महिलाको लागि छुट्टै किसिमको व्यवस्था गरीदिए सहज हुनेथियो ।’’

यता  वाणिज्य बैंक पाल्पाका शाखा प्रबन्धक पारसमणि घिमिरेले भने बैंकमा प्रयाप्त कर्मचारी नहुदा सेवाग्राहीलाई सहज रुपमा सेवा दिन नसकेको बताउनुभयो । उहाँले १२ जना कर्मचारीको आवश्यकता भएपनि ७ जना कर्मचारीले सेवा दिनुपरेको बताउनुभयो ।

प्रबन्धक घिमिरेका अनुसार बैंकको भवन सानो र साँघुरो हुनु, नगरपालिका तथा स्थानीय तहका सबै काम वाणिज्य बैंकबाट गर्नुपर्ने र असार मसान्त नजिकिएको कारणले पनि बैंकमा भिडभाड बढेको हो । तानसेन ४ बिसालबजारमा बैंकको नयाँ भवन बनेपछि सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने पनि प्रबन्धक घिमिरेको भनाई छ ।