काठमाडौँ, असार २७ गते । भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको दुई महिनापछि गहुँका उत्पादन आँटा, मैदा र सुजीको निर्यातमा पनि कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले बुधबार सूचना प्रकाशित गर्दै पिठो, मैदा र सुजीको निर्यातमा कडाइ गरेको हो ।
डीजीएफटीको सूचनाअनुसार असार २८ गते मङ्गलबारदेखि गहुँका उत्पादन (पिठो, मैदा, सुजी आदि) निर्यात गर्ने व्यवसायीले अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्नेछ । सूचनामा ती वस्तु निर्यात गर्ने व्यवसायीले अन्तरमन्त्रालय समिति (इन्टर मिनिस्टरियल कमिटी)बाट अनुमति लिन अनिवार्य गरिएको छ । यसअघि यी वस्तुको निर्यात गर्दा अनुमति लिनुपर्ने व्यवस्था थिएन ।
गत वैशाख ३० गते गहुँ निर्यातमा रोक लगाएको थियो । रुस–युक्रेन युद्दका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले गहुँसँगै गहुँको पिठो, मैदा र सुजीको निर्यातलाई पनि कडाइ गरेपछि यसमा आधारित नेपाली उद्योगलाई सङ्कट पर्ने व्यवसायीको भनाइ छ । भारत सरकारले गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पूर्णतः रोक लगाएको नभई लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था गरेपछि प्रक्रिया झन्झट भई आयात गर्न समय लाग्ने व्यवसायीले बताएका छन् ।
नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले भारतले गहुँ आयातमा रोक लगाएपछि नेपाली उद्योग समस्यामा परेको बताउनुभयो । “यहाँका मैदा उद्योगमा हाल एक महिनालाई पुग्ने गहुँ मौज्दात छ । त्यसपछि पनि गहुँ आयात नभए उद्योग पूर्ण रूपमा बन्द हुन्छन्,” दुगडले भन्नुभयो । भारतले मैदा, आँटा र सुजी निर्यातमा कडाइ गरेपछि बजारमा अभाव हुन थालेको उहाँले बताउनुभयो ।
मुलुकभर रहेका ३६ मैदा उद्योगलाई स्थानीय उत्पादनले अपुग भएपछि वार्षिक चार लाख टन गहुँ आयात गर्नुपर्ने अध्यक्ष दुगडले जानकारी दिनुभयो । मैदा उद्योगका लागि वार्षिक सात लाख टन गहुँ आवश्यक पर्ने गरेकामा तीन लाख टन स्थानीय उत्पादन हुने गरेको छ ।
सङ्घका अनुसार गहुँको आयातमा रोक लागेपछि आँटा र मैदाको मूल्य ६ प्रतिशतसम्म वृद्धि भइसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ)सम्ममा १३ करोड ९९ लाख १७ हजार रुपियाँ बराबरको गहुँको पिठो आयात भएको छ । भारत, चीन, थाइल्यान्डबाट गहुँको पिठो, मैदा र सुजी आयात हुने गर्छ ।
वार्षिक चार लाख मेट्रिक टन अपुग
स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि गहुँको आयात बढ्दै गएको छ । गहुँको वार्षिक माग २४–२५ लाख मेट्रिक टन माग रहेको छ । आन्तरिक उत्पादन २०–२१ लाख मेट्रिक टन रहेकामा तीन–चार लाख मेट्रिक टन अपुग हुन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष गहुँको खेती सात लाख १६ हजार हेक्टरमा भएको र उत्पादन २१ लाख ४४ हजार ५६८ मेट्रिक टन भएको छ । आव २०७७/७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख नौ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस्तै आव २०७६/७७ मा सात लाख सात हजार हेक्टर क्षेत्रफलमा भएको गहुँ खेतीबाट २१ लाख ८५ हजार मेट्रिक टन उत्पादन भएको थियो ।