• १३ साउन २०८१, आइतबार

त्रिचन्द्रमा जोडिएको स्वार्थ

blog

‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’ अर्थात् पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । देवी स्तोत्रमा उल्लिखित संस्कृतको यो उक्ति २०७२ को गोरखा भूकम्पपछि जीर्ण अवस्थामा रहेको देशकै पहिलो उच्च शिक्षालय त्रिचन्द्र क्याम्पसको सन्दर्भमा ठ्याक्कै मेल खान्छ । मुलुकको शैक्षिक उन्‍नयनको धरोहर त्रिचन्द्रको संरक्षणप्रति जिम्मेवार निकायले न चासो देखाएको छ न त चिन्ता नै । 

यसै कलेजबाट दीक्षित राजा महेन्द्रदेखि पूर्वप्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट र गिरिजाप्रसाद कोइरालासहित बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुलसीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्लजस्ता प्रतिभा आज हामीबीच छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल यहीँबाट दीक्षित हुनुभएको हो । त्रिचन्द्रबाट दीक्षित यस्ता हजारौँ विद्यार्थी देश–विदेशमा महत्त्वपूर्ण जिम्मेवारीमा थिए र छन् । 

२४ असारमा त्रिभुवन विश्वविद्यालयको ६३औँ वार्षिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उच्च शिक्षा अध्ययनका लागि विदेशिन खोज्ने विद्यार्थीलाई स्वदेशमै बस्ने गरी शैक्षिक कार्यक्रम तय गर्न त्रिविका पदाधिकारीलाई निर्देशन दिनुभयो । उच्च शिक्षा अध्ययनका लागि बजारमा देखिएको माग र विद्यार्थीको रुचि पूरा गर्न विश्वविद्यालयको प्राज्ञिक कार्यलाई स्तरोन्नति गर्नुपर्ने उहाँले बताउनुभयो । जीर्ण भवन पुनर्निर्माणमा बेवास्ता गर्दै आएको त्रिवि नेतृत्वलाई प्राज्ञिक सुधारका लागि निर्देशन दिनुको के अर्थ होला ? पढ्नका लागि विद्यार्थी बस्ने कोठाको व्यवस्था गर्न नसक्ने त्रिवि नेतृत्वबाट विश्वविद्यालय सुधारको के अपेक्षा गर्ने ? अर्थात् विश्वविद्यालयको गुणस्तर सुधार त्रिविको प्राथमिकताभित्र छैन । होइन भने वर्षौंदेखि बेहाल त्रिचन्द्रलाई त्रिवि नेतृत्वले किन टुलुटुलु हेरेर बसिरहेको छ त ? 

जब कि भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पश्चिमपट्टिको दरबार हाइस्कुलको पुनर्निर्माण भएर आकर्षक र आधुनिक भवन बनिसकेको छ । त्रिचन्द्र र दरबार हाइस्कुलबीचको रानीपोखरीको पुनर्निर्माण भइसकेको छ । यति मात्र होइन, केही परको धरहरा ठडिएको पनि एक वर्ष भइसक्यो । शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था पुनर्निर्माणको विषय त्रिभुवन विश्वविद्यालय र सरकारकोे प्राथमिकतामा पर्न नसक्नु आश्चर्यको विषय भएको छ । ऐतिहासिक महìवको त्रिचन्द्रको बेहालप्रति जिम्मेवार निकायको ध्यानाकर्षण गराउन विद्यार्थीले प्लेकार्ड बोकेर सडकबाट पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारले विद्यार्थीका पीडा सुनेर पुनर्निर्माण प्रक्रिया अघि बढाउन सकेको छैन । 

एक शताब्दीको इतिहास भएको क्याम्पस भौतिक रूपमा जीर्ण भएको छ । पुरातात्त्विक महत्त्वको भवनको छानोबाट कक्षाकोठामा पानी चुहिएको छ । भुइँ लेउले ढाकेको छ । चारैतिर भित्तामा झार पलाएको छ । झ्यालढोका मक्किएका छन् । भवनको दक्षिणतर्फको केही भाग भत्किएको छ । बाहिरबाट हेर्दा भवन वर्षौंदेखि प्रयोगविहीन भएजस्तो लाग्छ । हुन त जीर्ण भवन पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चासो देखाएको पनि थियो । त्यस क्रममा प्राधिकरणले रानीपोखरीतर्फका भवनहरूमध्ये सरस्वती सदन बाँकी राखेर उत्तर–पश्चिमतर्फको सबै जमिन खाली गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । ठाउँ खाली गरेबापत घण्टाघरसँगै रहेको कलेजको भवन पुरानै शैलीमा पुनर्निर्माण गरिदिने र खाली जग्गामा अर्काे नयाँ भवन बनाउने प्राधिकरणको प्रस्ताव थियो ।

ऐतिहासिक महìवको क्याम्पसको जमिन यो वा त्यो नाममा छाड्ने कुरा त्रिचन्द्रले स्वीकारेन । नस्वीकारेर त्रिचन्द्रले ठीक ग-यो । त्रिचन्द्रले प्रस्ट जवाफ दिएपछि पुनर्निर्माणको जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काँधमा आएको हो । भदौ २०७८ मा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटले त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महìव झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिने घोषणा गर्नुभएको थियो । संसद्मा उभिएर सरकारका जिम्मेवार मन्त्रीले गरेको घोषणा कागजमै सीमित हुन पुगेको छ । जसले गर्दा भवन निर्माणको जिम्मा लिएको शिक्षा मन्त्रालय मौन छ । त्यसै कारण हुनुपर्छ– शिक्षा मन्त्रालय हरायो भन्दै व्यङ्ग्य गरेको प्लेकार्डसहित विद्यार्थी प्रदर्शनमा उत्रिएका । 

शिक्षा मन्त्रालय र त्रिवि नेतृत्वमा यस्ता धरोहर जोगाउनुपर्छ भन्ने चिन्तन पटक्कै देखिएको छैन । चिन्तन हुन्थ्यो भने हिजोका दिनमा त्रिपुरेश्वरस्थित जनप्रशासन क्याम्पस र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) आफ्नो जमिन छाडेर हिँड्नुपर्ने अवस्था पक्कै पनि आउने थिएन । त्रिवि नेतृत्वले व्यापारीको इन्ट्रेस्टमा सात रोपनी सो जमिन ३२ वर्षका लागि युनाइटेड वल्र्ड ट्रेड सेन्टरलाई भाडामा दिएको थियो । विश्वविद्यालयका पदाधिकारी कमजोर हुँदा जनप्रशासन क्याम्पस र सेरिड आफ्नो सम्पत्तिमा बनेको भवन छाडेर अन्यत्र जानुपरेको थियो । जनप्रशासन क्याम्पस त्रिपुरेश्वरबाट जमल हुँदै अहिले कीर्तिपुर पुगेको छ । 

त्रिचन्द्रमा देखिएको समस्या पनि त्रिपुरेश्वरकै शैलीमा सपिङ कम्प्लेक्स बनाएर क्याम्पस अन्यत्र सार्ने नै हो । त्यसका लागि स्वार्थी समूहले राजनीतिक नेतृत्वलाई अनेक प्रलोभन देखाइरहेका छन् । भूकम्प गएको सात वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम अघि बढ्न नसक्नु पछाडिको मुख्य कारण यही हो । विश्वविद्यालयको नेतृत्व इमानदार नहुँदा मातहतका क्याम्पसको इतिहास निमिट्यान्न हुने खतरा बढेको छ । यस्तो बेलामा विश्वविद्यालयको सम्पत्ति जोगाउने मुख्य दायित्व त्रिवि उपकुलपतिको हुन्छ । अर्कातिर सरकारका केही जिम्मेवार अधिकारी पनि व्यापारिक र राजनीतिक स्वार्थमा लुटपुटिएका छन् । जसले गर्दा उनीहरू पनि त्रिचन्द्र कलेज अन्यत्र सार्नुपर्छ भनेर मुख खोल्न नसके पनि पुनर्निर्माणमा चासो देखाएका छैनन् ।

जीर्ण भवन जसरी पनि बनाउनैपर्छ भनेर विद्यार्थी र त्रिवि पदाधिकारीको एकै स्वर हुने हो भने राजनीतिक नेतृत्वले एकलौटी ढङ्गबाट निर्णय गर्ने आँट गर्नै सक्दैन । विद्यार्थी र त्रिवि नेतृत्वले राजनीतिक नेतृत्वलाई प्रस्टसँग भन्न सक्नुपर्छ कि सक्दैनौ भने नबनाऊ तर क्याम्पस अन्यत्र सार्न दिँदैनौँ । सरकारको यस्तो सन्देश त्रिवि र त्रिचन्द्रले एकै पटक सकुर्लर गर्नासाथ देश–विदेशमा रहेका त्रिचन्द्रबाट उत्पादित जनशक्तिले भवन निर्माणका लागि आवश्यक रकम जुटाउन कुनै समस्या नै हँुदैन । त्रिचन्द्र पुनर्निर्माण गर्न सक्दिनँ भनेर सरकारले हात उठाएका दिन पुनर्निर्माणको जग बस्नेछ । 

प्रधानमन्त्री चन्द्रशमशेरका पालामा १२ भदौ १९७५ मा स्थापना भएको त्रिभुवनचन्द्र कलेज वि.सं. १९८१ देखि त्रिचन्द्र कलेजका नामले चिनिएको छ । भारत सरकारले पटना विश्वविद्यालयअन्तर्गत रहेर कलेज सञ्चालन गर्न अनुमति दिएपछि त्रिचन्द्रका विद्यार्थीले पटना गएर परीक्षा दिनुपथ्र्यो ।

स्थापनाको १० वर्षपछि १९८५ देखि बल्ल विद्यार्थीले काठमाडौँमै परीक्षा दिन पाएका हुन् । त्रिचन्द्र सञ्चालनमा आएको ४१ वर्षपछि २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएको हो । सरकार मातहत सञ्चालित त्रिचन्द्र कलेज २०३० सालदेखि त्रिविको आङ्गीक क्याम्पसमा परिणत भएको हो । 

चन्द्रशमशेरले बेलायत भ्रमण गर्न जाँदा अक्सफोर्ड युनिभर्सिटीले उनलाई कानुन विषयको मानार्थ विद्यावारिधि उपाधिसँगै नेपालमा पनि विश्वविद्यालय खोल्न सुझाव दिएको पत्रकार प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तकमा उल्लेख छ । त्यसैअनुसार उनले त्रिचन्द्र कलेज खोलेका थिए । घण्टाघर भएको ठाउँमा वीर पुस्तकालय थियो । त्यही ठाउँमा कलेज भवन निर्माण गराएका थिए । 

कलेज उद्घाटनका दिनमा चन्द्रशमशेरले ‘आफ्नो खुट्टामा बञ्चरो हानेको’ कुरा उल्लेख गर्दै भनेका थिए, “हेर, आजको दिन राणा परिवारको निमित्त खुसीको दिन हुन आउने हो वा राणाको सर्वनाश गर्ने दिन हुन आउने हो । त्यसको केही ठेगान छैन । यो कलेज खुल्नाले परिणाममा राणाको असल होला भन्ने म त देख्दिनँ । काल बखत बेलाले मैले यो काम गर्नुपर्ने भएको मात्र हो ।

” व्यापारिक स्वार्थमा साक्षी बसेर क्याम्पसको इतिहास मेटाउन त्रिचन्द्रबाटै जन्मिएका कुपुत्र तयार भए पनि देवी स्तोत्रमा भनिएजस्तै त्रिचन्द्र आफैँमा कहिल्यै खराब हुन सक्दैन । त्यसैले ऐतिहासिक धरोहर जोगाउन त्रिचन्द्रले जन्माएका अरू सुपुत्र जागृत हुनैपर्छ ।