गुरु नानकको जन्म सन् १४६९ को कात्तिक पूर्णिमाका दिन भारत वर्षको तालबन्डी भन्ने स्थानमा भएको हो । हाल यो स्थानमा भव्य गुरुद्वारा बनेको छ । यस गुरुद्वारालाई नानकना साहेब भनिन्छ । यो स्थान पाकिस्तानको पन्जाब प्रान्तमा भारत–पाकिस्तान सीमानजिकै पर्छ । भारतबाट लाखाैँ सिख धर्मावलम्बी हरेक वर्ष यस पवित्र स्थलमा दर्शनका लागि पुग्ने गर्छन् ।
सिख धर्मका आदिगुरु गुरु नानकले नै गुरु र शिष्यको सनातन परम्परालाई सिख धर्ममा संस्थागत गर्नुभएको थियो र यो गुरु–शिष्य परम्परा सिख धर्मका १० औँ गुरु गोविन्द सिंहको समयावधि सन् १७०८ सम्म मानवोत्तर रूपमा जीवन्त रहिआएको छ । सिख धर्म पवित्र मूल धार्मिक ग्रन्थ गुरुग्रन्थ साहेबमा उल्लिखित गुरु हुकुमनामा अनुसार चल्ने गर्छ । गुरुग्रन्थ साहेबको पूर्णता १० औँ गुरु गोविन्द सिंहको वाणी समावेश भएपछि पूर्णता भएको मानिएको थियो । गुरुको आज्ञानुसार व्यक्तिलाई गुरु मान्ने परम्पराका अन्त्य गरी गुरुग्रन्थ साहिबलाई नै जीवित गुरु महाराजका रूपमा मान्दै आएको पाइन्छ ।
सम्पूर्ण प्राणीजगत्का ईश्वर एउटै मात्र परमात्मा हुनुहुन्छ भन्ने मूलमन्त्रका साथ गुरु नानकले एक ओन्काररूपी परमात्माको सिमरन अर्थात् भक्तिमा आपनो जीवन व्यतीत गर्नुभयो । गुरुशिष्य सनातन परम्पराको निरन्तरताकै उद्बोधन भाव सिख धर्मको मूलभाव हो र सिख शब्दको अर्थ पनि शिष्य नै हुन्छ । एक ओन्कार सद्गुरु प्रसादको मूलमन्त्रले सम्पूर्ण मानवजातिलाई एकताको सूत्रमा बाँध्ने जातजाति, छुवाछुत प्रथा जस्ता सामाजिक धार्मिक विभेद अन्त्य गर्न कम्युनिटी किचन (सामूहिक लङ्गर) को प्रचलन गुरु नानक देवले सुरु गर्नुभएको थियो । यो अहिले संसारभरका हजारौँ गुरुद्वारा अर्थात् गुरुका दरबारमा निरन्तर बढ्दो क्रममा मानव सेवामा गतिशील छन् ।
मानव जातिको दुःख, भोक, अशिक्षा र अज्ञानतादेखि उदास भएर सन् १४९९ देखि १५२४ सम्म २५ वर्ष गुरु नानकले उदासी जीवन बिताउनुभएको थियो । यस अवधिमा उहाँले पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै दिशामा गरी पाँच वटा उदासी यात्रा बालसखा बाला र मरदानाको साथमा जोगीको भेष धारण गरी गर्नुभएको थियो । यी उदासी जीवनको यात्रामा उहाँले करिब २८ हजार किलोमिटरभन्दा बढी पैदल यात्रा गरेको भनी अनुसन्धानकर्ताले बताएका छन् । गुरु गोरखनाथ र बाबा नानक हिमवत् खण्ड भारत वर्षका यस क्षेत्रका समकालीन धार्मिक गुरुको रूपमा स्तुत्य रहनुभएको छ । बाबा नानकका चार वटा उदासी यात्रामध्ये तेस्रो यात्राकालमा उहाँले कश्मीर, सुमेरु पर्वत, तासकन्द, तिब्बत र काठमाडौँ हुँदै सिक्किमसम्मको यात्रा गर्नुभएको बताइएको छ ।
गुरु नानकको नेपालको यात्रा तेस्रो उदासी यात्रा अन्तर्गत सन् १५१४ देखि १५१८ को बिचमा भएको विश्वास गरिएको छ । गुरु नानकको तेस्रो उदासी यात्रा पाँच वर्षको रहेको थियो । भगवान्को वास्तविक सन्देश मनुष्यका लागि के हो ? भन्ने प्रश्नको उत्तर खोजीमा र शिव महिमा अर्थात् वास्तविक शिवत्वको खोजीमा योगीको भेष धारण गरी जीवनदेखि उदास भएर भगवान्को समीपमा पुग्ने अभिलाषासहित गुरु नानकले उदासी यात्रा सुरु गर्नुभएको भनाइ छ । त्यति बेला पशुपति क्षेत्र, थापाथली बागमती नदी क्षेत्र, बालाजु क्षेत्र, ज्ञानेश्वर र सिंहदरबार आसपास क्षेत्रमा समेत उदासी परम्परा र गुरुग्रन्थ साहिबसँग सम्बन्धित ऐतिहासिक प्रमाणले सङ्केत गरेको पाइन्छ । यद्यपि यो विषयमा थप अनुसन्धान हुनुपर्ने देखिन्छ ।
तत्कालीन समयमा गुरु नानकले थापाथलीमा सन्त महात्मा, गुरु पिरहरूलाई लङ्गर लगाएको, ज्ञानेश्वरमा गुफामा बसी तीर हानी ज्ञानधाराबाट पानी निकालेको तथा राजघरानाका लागि राजकाजसम्बन्धी ज्ञान गोष्ठी गरेको र बालाजुस्थित चरावृक्ष स्थानमा सन्तहरूसँग शास्त्रार्थ गरेको किंवदन्ती रहेको गुरु शिष्यहरूका बिचमा पाइन्छ । ज्ञानेश्वर, पशुपति क्षेत्र, थापाथली, शोभाभगवती र प्राचीन गुरु नानक मठ उदासीन मठमा गरी पाँच स्थानमा कतै प्रकाशित भएका र कतै हस्तलिखित गुरुग्रन्थ साहिब रहेका छन् । पूरै भारतवर्षमा समेत सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका सिख धर्म परम्परा, सभ्यताका हस्तलिखित गुरुग्रन्थ साहिब काठमाडौँका उदासी मठमन्दिरमा विराजमान हुनु हाम्रा लागि गौरवको विषय हो । गुरु नानक र सिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु राज्य र हामी सबैको दायित्व र कर्तव्य दुवै हो । यी सबै स्थानले गुठी संस्थान ऐन, २०३३ को व्यवस्थाबमोजिम गुठी संस्थान मातहतमा तैनाथी गुठीका रूपमा निर्वाहको मात्र परम्परा धानिरहेको छ ।
नेपालमा सिख धर्मावलम्बीको सङ्ख्या औपचारिक तथ्याङ्कमा कम देखिए पनि कपिलवस्तु, रुपन्देही, बुटवल, भैरहवा बाँके, ललितपुर, पर्सा, सुनसरी, धनगढी, महेन्द्रनगर र काठमाडौँमा समेत गरी करिब पाँच हजार भएको अनुमान छ । भारतमा मात्र करिब साढे दुई करोड र अन्य देशमा करिब डेढ करोड गरी संसारभरि फैलिएर रहेका चार करोड सिख धर्मावलम्बीका लागि यस्ता अमूल्य तथा अद्वितीय सांस्कृतिक सामाजिक धार्मिक निधिको भौतिक पूर्वाधारको विकास गरी धार्मिक पर्यटनसँग जोड्न सके यसबाट समग्र देशको आर्थिक विकासमा टेवा पुग्न सक्ने देखिन्छ । काठमाडौँका अतिरिक्त ललितपुर, धनगढी, नेपालगन्ज, कृष्णनगर, बुटवल, वीरगन्जमा समेत गुरुद्वारा छन् । नेपाल सरकारले गुरु नानकको जन्मजयन्तीका अवसरमा सिख धर्मावलम्बीका लागि बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।
‘एक ओन्कार सद्गुरु प्रसाद अर्थात् सबै मनुष्यजातिको सद्गुरु भगवान् एउटा मात्र हुनु हुन्छ’ भन्ने मूल भावना, एकता र सबैका परमात्मा अकाल पुरख अर्थात् निर्भय र निरङ्कार आत्मा नै हुन् भन्ने गुरुग्रन्थको सन्देश संसारभर फैलियोस् । ‘सतश्री अकाल, जो बोले सो नेहाल’ अर्थात् यस्ता निरङ्कार निर्भयर एक मात्र परमात्माको सत्य निष्ठापूर्वक वन्दना गर्दै गुरु शिष्य परम्परा, धर्म धर्मबिचको आपसी समन्वयको बलियो धार्मिक सामाजिक बन्धनको निर्माणका लागि गुरुवाणी, गुरुकीर्तन, गुरुभजन, लङ्गरप्रसाद, अखण्ड पाठले दिने सामाजिक प्रभाव अत्यन्तै मौलिक, गहिरो र आत्मीय रहने गर्छ । यसका लागि देशमा रहेका यस्ता अमूल्य धार्मिक सांस्कृतिक सम्पदा र निधिहरूको राज्य, समुदाय र नागरिकस्तरबाट समेत उचित संरक्षण, प्रवर्धन, अवलम्बन र प्रचारप्रसार गर्न गराउन सके धार्मिक पर्यटनको विस्तारमार्फत आर्थिक उन्नति र सामाजिक सद्भाव कायम गराउन सकिन्छ ।