• २ माघ २०८१, बुधबार

विवाद समाधान नभएसम्म एनएसएल नहुने

blog

काठमाडौं, असार २६ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्ट जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ । 

तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा र एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँगको सम्झौता नै त्रुटीपूर्ण भएको भन्दै खारेजका लागि एन्फा पदाधिकारी र असन्तुष्ट क्लब निचोडमा पुगेका थिए ।

आइतबार एन्फाले आयोजकसँग अनौपचारिक बैठक गरेको छ । बैठकपछि एन्फाले विवाद समाधान नभएसम्म दोस्रो संस्करणको नेपाल सुपर लिग नहुने जनाएको छ । कोरोना महामारीका बीच सफलतापूर्वक पहिलो संस्करणको एनएसएल सम्पन्न भइसकेको छ । दोस्रो संस्करणका लागि मिति तोकिए पनि शहीद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले असन्तुष्ट जनाएपछि दोस्रो संस्करण अन्योलमा परेको हो । 

खेलाडी अनुबन्धको विषयदेखि फिफा र एफसीमा क्लब सिफारिस सम्बन्धमा चारवटा क्लबले आवाज उठाएपछि एनएसएल अन्योलमा परेको छ । एन्फा नेतृत्व अहिले परिवर्तन भएको छ । नयाँ नेतृत्वले सम्झौता स्पष्ट नभएको र त्रुटीपूर्ण भएको समेत बताएको छ । तत्कालीन अध्यक्ष शेर्पा र एनएसएल आयोजकबीचको सम्झौता स्पष्ट नभएको नयाँ नेतृत्वले औंल्याएको र सोही बारे आयोजकलाई आइतबार एन्फा मुख्यालयमा बसेको अनौपचारिक बैठकमा जानकारी गराएको महासचिव किरण राईले बताउनुभयो ।

एनएसएलको विषयमा आइतबार नै एनएसएलका प्रमुख कार्यकारी निर्देशक (सिईओ) सुदीप शर्मा र निर्देशक श्रीयान्स कार्कीले एन्फा पदाधिकारीसँग छलफल समेत गर्नुभएको छ । एनएसएल आयोजकले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसँग अनौपचारिक छलफल गर्नुभएको हो । 

छलफलपछि एन्फा महासचिव राईले त्रुटिपूर्ण सम्झौतालाई परिमार्जन गरेर विवाद समाधान भएपछि मात्र दोस्रो संस्करणको एनएसएल हुने बताउनुभयो । बैठकपछि एनएसएलका निर्देशक श्रीयान्स कार्कीले प्रतियोगिता आयोजना सम्बन्धमा साउन २ गते बस्ने एन्फा कार्यसमितिको बैठकपछि निर्धारण गरिने आश्वासन पाएको बताउनुभयो । 

‘एनएसएल खारेज भन्दा पनि अन्योल भएका बुँदामा स्पष्ट हुँदै अगाडि बढ्ने गरी बैठमा छलफल भएको छ,’ कार्कीले भन्नुभयो । निर्देशक कार्कीले नेपाल फुटबलको विकासका लागि सम्झौता परिमार्जनसहित अगाडि बढ्न तयार रहेको पनि बताउनुभयो । ‘ए’ डिभिजन क्लबसँगको सम्झौता बाँकी छँदै एनएसएल टोली र मार्की खेलाडी अनुबन्ध गरेपछि विवाद सुरु भएको थियो । विवाद उत्कर्षमा पुगेपछि आयोजना परेको हो ।