• १४ असार २०८१, शुक्रबार

बूढीगंगामा एमालेका बाँनिया प्रमुख र उपप्रमुखमा कुँवर विजयी

blog

धनगढी, असार २६ गते । बूढीगंगा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर बाँनिया नगरप्रमुखमा विजयी हुनु भएको छ । यस्तै उपप्रमुखमा पनि एमालेकै माया कुँवर विजयी हुनु भएको छ  । एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया प्रतिस्पर्धी नेपाली काँग्रेसका रंगबहादुर खातीभन्दा. एक हजार तीन  बढी मत ल्याएर विजयी हुनुभयो । 

आइतबार पूरा भएको मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाउनु भएको छ भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार खातीले तीन हजार ७७४ मत प्राप्त गरेको बूढीगंगाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताउनुभयो । 

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी कुँवर चार हजार ७२७ मत पाएर विजयी हुनु भएको छ । उहाँकी प्रतिस्पर्धी काँग्रेसकी  रिता शाहीले  तीन हजार ७५५ मत पाउनु भएको छ   । 

१० वटा वडा रहेको बूढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोग नेपालले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो । 

बूढीगंगामा नगरपालिका १३ हजार ६५९ मतदाता रहेका रहेकोमा असार २३ गतेको चुनावमा ६६.८३ प्रतिशत अर्थात नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभयाे । 

गुरुलाई हराएका नगरप्रमुख बाँनियाले भने, एक वर्षमै परिणाम दिन्छौ 

बूढीग‌गा नगरप्रमुखमा निर्वाचित रामबहादुर बाँनियाले पहिलो वर्षमै परिणाम देखाउने गरी काम गर्ने बताउनु भएको छ । एमालेबाट उम्मेदवार बन्नु भएका बाँनिया प्रतिस्पर्धीलाई एक हजार ३ मतको मतान्तरले पराजीत गरेर नगर प्रमुख बन्नु भएको छ  ।

९ हजार १२८ जनाले मतदान गरेको बूढीगंगामा बाँनियाले चार हजार ७७७ र  काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाउनु भएको छ । मेयरमा निर्वाचित भएपछि गोरखापत्रलाई प्रतिक्रिया दिदै उहाँले मतदाताप्रति आभार प्रकट गर्दे भन्नुभयो, अब हामी शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणका काममा विषेश ध्यान दिएर जान्छौ । 

पञ्चवर्षीय योजना बनाएर हामी नगरको विकासमा काम गर्छो उहाँले भन्नुभयो हरेक निर्णय विधिसम्मत तरिकाले गर्नेछौ र हरेक निर्णय कार्यान्वयन गर्नेछौ । राम्रो काम गर्नका लागि जनताले गरेको विश्वासको प्रत्याभूति दिनका लागि समन्वय गर्ने सयन्त्र पनि बनाउने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, काम जनताका लागि गर्ने हो । जनप्रतिनिधि भएपछि आफ्नो पार्टीलाई भुल्ने चलन छ म पार्टीसित सल्लाह गरेरै जनताका हीतका काम गर्नेछु । जसले पार्टीको विश्वास पनि कायम रहने छ नगरको समृद्धि पनि बढ्ने छ । 

आफ्नै गुरुलाई पराजीत गर्दा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा मेयर बाँनियाले भने आजसम्मका हरेक लडाइँमा गुरु पराजीत भएको बताउनुभयो । । धार्मिकशास्त्र होस वा राजनीति सबैतिर गुरु पराजीत भएका छन् उहाँको भनाइ छ । 

मेयर बाँनियाले काँग्रेसबाट मेयरका उम्मेदवार रहेका रंगबहादुर खातीले आफूलाई प्लस टु पढ्दा ०५४/५५ मा राजनीतिशास्त्र पढाएको सम्झनुभयो । उहाँले प्लस टु भानोदय उच्च माविमा पढ्नु भएको हो । मेरो उहाँप्रति श्रद्धा, सम्मान सँधै छ । नाताले पनि उहाँ मेरो साढु दाइ हो । तर उहाँले चुनाव जित्न गर्नु भएको हर्कतले म दुःखी छु मेयर बाँनियाले भन्नुभयो उहाँले जनतालाई दुई पटक मतदान गर्न लगाएर दुःख दिने् अवस्था सृजना गर्नुभयो ।

जनताले आफूलाई जिताएर न्याय दिएकोमा निक्कै आभारी छु उहाँले भन्नुभयो जनताको शिर झुकाउने केही पनि नराम्रा काम गर्ने छैन् । अघिल्लो पटक ०७४ को चुनावमा काँग्रेसका दीपकविक्रम शाहसित २८५ मतले पराजीत हुनु भएका बाँनियाले यसपटक कसरी फराकिलो मतान्तरले जित्नु भयो त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, अघिल्लो पटक पनि म प्राविधिकरुपमा हारेको थिए । अहिले त्यतिबेलाको बारेमा धेरै कुरा नगरौ । 

तर यसपटक मैले २५ वर्ष गाउँ घरमै बसेर गरेको समाजसेवाको मूल्यांकन गरेर जनताले मलाई जिताएका छन् । जनताको अदालतले सत्यका पक्षमा निर्णय गरेको छ न्याय दिएको छ उहाँले भन्नुभयो । 


को हुन बाँनिया 

४१ वर्षअघि साविकको वारविस गाविस वडानम्बर ७ बाँनियाबाडा (हालको बुढीगंगा नगरपालिका‐८) मा सामान्य किसान परिवारमा माइलो सन्तानकारुपमा जन्मिएका बाँनियाले स्नातक तह उत्तीर्ण गर्नु भएको छ । 

उहाँले आइए (प्रविणता प्रमाणपत्र तह) को पढाइ भानोदत्त उच्चमावि नौविसबाट र स्नातक तह डोटीको डोटी क्याम्पसबाट गर्नुभएको हो ।  २०५० सालमा अनेरास्ववियुबाट राजनीति शुरु गर्नु भएका बाँनिया भानोदय उच्च माविमा अखिलको प्राक सचिव र डोटी क्याम्पसमा अध्यक्ष हुनुभयो । 

०६१ मा वारविस गाउँकमिटी सचिव हुनु भएका मेयर बाँनिया ०६५ देखि जिल्ला कमिटी सदस्य हुनुहुन्छ । अहिले उहाँ जिल्ला कमिटीको सचिवालय सदस्य समेत हुनहुन्छ । त्रिशक्ति उच्च माविको व्यवस्थापन समितिको अध्यक्ष समेत भएका बाँनिया लघु विद्युत उत्पादनदेखि धेरै सामाजिक क्रियाक्लापमा जोडिदै आउनुभएको छ । 

Author

प्रकाशविक्रम शाह/शेरबहादुर सार्की