• १३ साउन २०८१, आइतबार

लोडसेडिङको मारमा धादिङवासी

blog

धादिङ, असार २६  गते । नेपाल विद्युत् प्राधिकरणले धादिङमा विद्युत् मर्मतका लागि भन्दै प्रत्येक शनिबार लोडसेडिङ गर्दै आएको छ । जिल्लामा बिजुली आउने र जाने समयमा कुनै भर नभएकाले स्थानीयले सास्ती खेप्दै आएका छन् । उता विद्युत्मा आश्रित व्यवसाय गर्न निकै कठिन भएको गुनासो व्यवसायीको छ ।

गर्मीको समयमा विद्युत्को अनियमितताले व्यवसाय चौपट भएको होटल व्यवसायी मुना गोतामे बताउनुहुन्छ । “निकै गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सामान बिग्रिएर जान्छ,” गोतामे  भन्नुभयो, विद्युत् प्राधिकरणको असावधानीले दैनिक घाटा बेहोर्नुपरेको छ ।

महिनौँदेखि सूचना नै जारी गरेर प्राधिकरणले प्रायः सबै शनिबार दिनभर विद्युत् नआउने जानकारी गराउने गरेको छ । अधिकांशको बुझाइ विद्युत् प्राधिकरण धादिङले शनिबार बत्ती कटौती गर्छ भन्ने रहेको छ । 

हिउँदासमेत अनियमित रहेको विद्युत् वर्षा लागेदेखि झनै अनियमित बनेको सामाजिक अभियन्ता नारायण श्रेष्ठ बताउनुहुन्छ । दैनिक दर्जनौँपटक बत्ती गइरहने समस्याले गर्दा आमनागरिकले त हैरानी खेपेकै छन् । सरकारी काम पनि अस्तव्यस्त बन्ने गरेको छ । 

प्राधिकरणले भने वर्षाको समय भएकाले बिजुली गइरहने समस्या देखिएको जवाफ दिने गरेको छ । टाढाबाट बिजुली आपूर्ति गर्नुपर्ने र बीच–बीचमा आउने जाने समस्या भइरहेको विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो ।

कहिले काहीँ ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढीपहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आपूर्तिलगायत समस्या रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “विगत वर्षको तुलनामा हावाहुरी र चट्याङ बढी भएकाले विद्युत् आपूर्तिमा समस्या भएको हो ।”