प्रवीण कुमार शर्मा
रौतहट, पुस ३ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपालमा क्रिकेट खेलको क्रेज बढदै गइ रहेकोले मधेश प्रदेशमा अन्तर्रास्ट्रिय स्तरको रङ्गशाला बनाउने बताउनु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–८ कोटीहोम खेल मैदानमा आयोजित चन्द्रपुर प्रिमियर लिगको उदघाटन कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री यादवले आफु भौतिक पूर्वाधार विकास मन्त्री हुँदा जनकपुर–१४ रजौलमा रङ्गशाला निर्माणका लागि डिपिआर गराएको बताउनु हुँदै आगामी दिनमा निर्माण कार्यको थालनी गरिने बताउनुभयो ।
खेल र खेलाडिको हौसला बढाउन प्रदेश सरकार पछि नपर्ने बताउनु हुँदै मुख्यमन्त्री यादवले चन्द्रपुर नगरपालिका–८ मा रहेको कोटीहोम खेल मैदानको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबध्ता व्यक्त गर्नु भयो ।
चन्द्रपुर नगरपालिकाको सहयोगमा चन्द्रपुर युवा क्लबद्वारा आयोजना भएको चन्द्रपुर प्रिमियर लिगको दोस्रो संस्करणमा आठ वटा टिमको सहभागिता रहेको चन्द्रपुर युवा क्लबका कार्यक्रम संयोजक देवराज कार्कीले जानकारी दिनुभयो ।
चन्द्रपुर प्रिमियर लिगको दोस्रो संस्करणमा घोडादेवि राइडर्स चन्द्रपुर,देवीपुर रोयल गुजरा,चमनपुर सुपर किंग्स, दुर्गा भगवती वेरियर्स, समनपुर बोल्ट, नेपाल तराइ सिटि एण्ड बेरोजगार टिम, अप्पन कटहरिया र होटल एन प्लाजा गरि आठ वटा टिमको सहभागिता रहेको उहाँले बताउनुभयो ।
बिहिबार अप्पन कटहरिया र होटल एन प्लाजा टिम बीच भएको खेलमा अप्पन कटहरिया टिमले जित हासिल गरेको छ । अप्पन कटहरियाले २० ओभरमा ७ बिकेट गुमाउदै २ सय १३ रन बनाउन सफल भएको थियो भने होटल एन प्लाजाले १४ ओभरमा ३ बलमा सबै बिकेट गुमाउदै ९३ रन बनाएको थियो ।
शुक्रबार दुर्गा भगवती वेरियर्स र समनपुर बोल्टबीच पहिलो खेल तथा होटल एन प्लाजा र देवीपुर रोयल गुजरा बीच दोस्रो खेल हुने चन्द्रपुर युवा क्लबले जनाएको छ ।