काठमाडौँ, पुस ३ गते। गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मुलुकको अर्थतन्त्रमा आशाको सञ्चार गराउन गोरखापत्र संस्थानले ‘गोरखापत्र डिस्कोर्स’ आयोजना गरेको जानकारी दिनु भएको छ।
गोरखापत्र एकेडेमीको संयोजनामा आयोजना भएको गोरखापत्र डिस्कोर्स कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै उहाँले यस्तो जानकारी गराउनु भएको छ।
‘‘यो कार्यक्रमले राज्य र व्यवसायीका बिचमा केही न केही सन्देश प्राप्त हुने छ।यो सन्देश राज्यलाई लिखित रूपमा उपलब्ध गराउने छौँ। अहिले अर्थतन्त्रमा निराशाको व्यापार भइराखेको छ। हामीसँग पर्याप्त सम्भावना र अवसर छन्। यी चुनौतीलाई कसरी सामना गर्ने भनेर हामी आशाको सञ्चार गराउन गोरखापत्र डिस्कोर्स आयोजना गरेका हौँ,’’ महाप्रबन्धक ऐरीले भन्नु भयो।
उहाँले गोरखापत्र एकेडेमीले पत्रकारिताको क्षेत्रमा प्राज्ञिक काम गर्ने जानकारीसमेत गराउनु भएको छ।