• २ पुस २०८२, बुधबार

नौ जनालाई ‘पोखरेली नवरत्न’ सम्मान

blog

क्याप्सनः पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा पोखरेली नवरत्नबाट सम्मानित हुनु हुने विभिन्न क्षेत्रका नौ अग्रज। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २ गते। पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा समाजका विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका प्रमुख धनराज आचार्यले बुधबार आयोजित समारोहमा उहाँहरूलाई जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदकसहित सम्मान गर्नु भएको हो। 

महानगरले पुम्दीकोटमा विशाल शिवमूर्ति बनाउने अभियानको नेतृत्व गर्ने चन्द्रकान्त बराल, चर्चित ब्यान्ड नेपथ्यका अमृत गुरुङ र उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई सम्मान गरेको छ। यसैगरी, पोखरेली नवरत्नबाट सम्मानित हुनु हुनेहरूमा साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजु, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का तथा उद्योगी हरिप्रसाद पाण्डे सम्मानित हुनु भएको छ। 

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महानगरले कार्यविधि र मापदण्ड बनाएर समाजका विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरेको बताउनु भयो। “व्यक्तिगत रूपमा भन्दा पोखरा रत्न भो, नौ जनालाई दिएको हुनाले नवरत्न भनियो,” उहाँले भन्नुभयो, “जीवनभर राम्रो काम गर्नु कठिन कार्य हो। यो राज्यले दिएको कदर हो, एकथान सम्मानपत्र मात्र यो होइन।”

अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’को संयोजकत्वमा विश्व सिग्देल, प्रा. नीता ताम्राकार, दीपेन्द्र श्रेष्ठ र महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रहेको प्रतिभा छनोट समितिको सिफारिस बमोजिम महानगरले नौ जनालाई नवरत्न सम्मान प्रदान गरेको हो।