राजकुमार भट्टराई
खोटाङ, पुस २ गते । खोटाङको दक्षिणी क्षेत्र वाप्लुखामा लामो समयदेखि जीर्ण भवनमा रहेको प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । १४ वर्षदेखि आमा समूहको जीर्ण भवनबाट काम गर्दै आएको वाप्लुखा प्रहरी चौकीले नयाँ भवन पाएको हो ।
२२ वैशाख २०८० मा गोरखापत्रमा प्रहरी चौकी जीर्ण भवनमा शीर्षकमा समाचार छापिएको थियो । त्यसको डेढ वर्षपछि प्रहरी चौकीको भवन निर्माण भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकीको नयाँ भवन निर्माण भएसँगै सञ्चालनमा आएको हो । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले औपचारिक उद्घाटन गर्नुभएको हो ।
कोशी प्रदेश सरकारको २५ लाख लागतमा निर्माण भएको ४ कोठे ट्रष्ट भवन औपचारिक उद्घाटन भएसँगै सञ्चालनमा आएको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताउनुभयो । लामो समय जीर्ण भवनमा रहेको प्रहरी चौकीको भवन निर्माणका लागि मन्त्री राईले बजेट व्यवस्थापन गरिदिएपछि प्रहरी चौकीले नयाँ भवन पाएको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा पनि सोही प्रहरी चौकीलाई भौतिक पूर्वाधारबाट पुनः २५ लाख बजेट विनियोजन भएको छ । उक्त बजेटले सुविधा सम्पन्न शौचालय र किचन निर्माण हुने उपाध्यक्ष राईले बताउनुभयो ।
खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा २०५४ सालमा सामान्य भवन निर्माण गरेर प्रहरी चौकी स्थापना गरिएको थियो । सशस्त्र द्वन्द्वको समयमा २०५७ साल चैतमा प्रहरी चौकी जलेर ध्वस्त भएको हो ।
द्वन्द्वको समयमा वाप्लुखाबाट उठेको प्रहरीचौकी २०६८ सालमा पुनःस्थापना गरिएको हो । अभिभावकको छलफल अनुसार वाप्लुखाको महाकन्य विद्यालयलाई पुरानो स्थानभन्दा केही तल पायक पर्ने ठाउँमा सारेपछि विद्यालयको भवन खाली भएको थियो । खाली भएपछि सिर्जनशील आमा समूहले उक्त भवनलाई प्रयोग गर्दै आएका थिए । पुनःस्थापना पश्चात् आफ्नै भवन नभएपछि सोही भवनको २ कोठामा प्रहरी चौकी राखिएको थियो ।
२०७२ सालको भूकम्पका कारण जीर्ण बनेको भवनको कोठाको भित्ता चर्किएर चिरा परेको छ । कोठा साँघुरो र अँध्यारो छ । दिउँसो पनि कोठामा बत्ती बाल्नुपर्ने अवस्था छ । वर्षामा छाना चुहिने समस्या छ । एउटा कोठा चिरा परेर भासिएको छ । सोही भवनमा बसिरहेका प्रहरीले अब भने नयाँ भवन पाएका छन् ।