• २ पुस २०८२, बुधबार

गुल्मी-१ मा कांग्रेसबाट १३ जना आकाङ्क्षी

blog

रमेश विश्वकर्मा 

गुल्मी, पुस २ गते। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी १ मा नेपाली कांग्रेसबाट १३ जना उम्मेदवारका आकाङ्क्षी देखिएका छन्। सत्यवती गाउँपालिका-६, जोहाङ्ग खैरेनीमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी व्यापक छलफलपछि भएको उम्मेदवार सिफारिस सम्बन्धी छलफलमा प्रत्यक्षतर्फ सात जना र समानुपातिकतर्फ छ जनाले आकाङ्क्षी देखाएका हुन्। 

क्षेत्र नम्बर-१ का सचिव मार्कण्ड भण्डारीका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार भएको क्षेत्रीय कार्यसमितिको बैठकमा आकाङ्क्षीहरू स्वयं आफै र वारेसमार्फत उपस्थित भएका थिए। उम्मेदवार हुनका लागि आकाङ्क्षा राखेकाहरूको नाम सङ्कलन गरिएको छ। प्रत्यक्षतर्फ डा. चन्द्रकान्त भण्डारी, श्रीप्रसाद भलामी, भरत बस्नेत, अमृत ज्ञवाली, रवि ज्ञवाली, राधिका न्यौपाने र धनकुमारी रानाले इच्छा देखाउनु भएको छ। 

त्यसैगरी समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि झक बहादुर पुन, भानुभक्त सुवेदी, मीना भण्डारी, गङ्गा पाण्डे (सीता), निर्मला सुवेदी र भगवती काफ्ले भण्डारीले इच्छा देखानु भएको छ। कांग्रेस केन्द्रले उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत, नभए बढीमा तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको हुँदा क्षेत्रीय कार्यसमितिको पुन: बैठक बसी पार्टीको विधानसम्मत उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरिने उहाँले बताउनु भयो।