बाजुरा समाचारदाता
बाजुरा, पुस २ गते । बाजुराको दुर्गम गाउँबस्तीका अधिकांश महिला घर छोडेर धमाधम बिदेसिन थालेका छन् ।
गाउँमा बसेर घरपरिवार चलाउन अन्य केही विकल्प नभएपछि उनीहरू रोजगारका लागि घर छोडेर विदेश जान थालेका छन् । पहिला यहाँका पुरुष भारतमा जाने र महिलाले घर चलाउने गर्थे । अहिले पुरुषसँगै महिलाहरू पनि भारतलगायत अन्य मुलुक जाने क्रम बढेको छ ।
पहिला आफू घरमा बस्ने र श्रीमान् परदेशमा गएर खर्च पठाउने गर्नुहुन्थ्यो । अहिले परिवार पनि बढ्दै गयो । उहाँको एक्लैको कमाइले घर धान्न सकस हुने भएकाले आफू पनि उहाँसँगै कामको खोजीमा भारत जान लागेको बुढीगङ्गा नगरपालिकाका–१० स्थानीय दीपा साउँदले बताउनुभयो ।
पहिलेका पुरुष भारत गएर कमाएको रकम इमानदारीपूर्वक पठाउनुहुन्थ्यो तर पछिल्लो समय घरमा पैसा आवश्यकता अनुसार पैसा नपठाएका कारण महिला पनि श्रीमान्सँगै भारत जान सुरु गरेको उहाँले बताउनुभयो । अहिले प्रायः श्रीमान्श्रीमतीसँगै भारतमा काम गर्न जाने र उतैबाट छोराछोरीलाई घरमा पैसा पठाउने गरेको क्रम बढेको उहाँले बताउनुभयो । सासू र सुसुराको भरमा छोराछोरी छोड्ने र दुवै जना भारतमा गएर कमाइ गर्न थालेपछि परिवार पाल्न सहज भएको साउँदले बताउनुभयो ।
बाजुराका अधिकांश स्थानीयको भारतकै भरमा घरमा गुजारा चल्छ । यहाँका युवकयुवतीहरू प्रायः घरमा बालबच्चा छाडेर रोजगारीका लागि भारत जाने गरेका छन् । पहिला कात्तिक मङ्सिरमा गहुँ र असारमा धान, कोदो खेती लगाउने समय गाउँ आउने र त्यसपछि फेरि उनीहरू कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्थे ।
तर अहिले स्थानीयको खेतीपातीमा खासै चासो छैन । भारतीय नोटको मोहले उनीहरू यसो चाडपर्वका लागि गाउँ आउने त्यसपछि फेरि भारतै फर्किने गरेका छन् । गाउँमै रोजगारीका धेरै सम्भावना छन् । खेती लगाउँ भने पनि गाउँमा प्रशस्त जमिन छ ।
अहिलेको पुस्ताले खेतीप्रति खासै चाँसो नदेखाउँदा यहाँको खेतीयोग्य जमिनसमेत बाँझो हुँदै गएका छन् । जिल्लाको बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमूल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र बुढीनन्दालगायतका महिला अहिले धन कमाउनकै लागि गाउँ छोडेर भारत जाने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरू घर छाडेर धन कमाउनका लागि धमाधम भारतमा जान थालेका छन् । सरकारले गाउँका युवालाई गाउँमै गरी खाने व्यवस्था मिलाउन नसकेका कारण अहिले महिलाले पनि भारतमा गएर पेट पाल्नु परेको यहाँका महिला बताउँछन् ।
गाउँमा हुने गरेका विकास निर्माणका काममा पनि ठेक्का दिने र ठेकेदारले आफू अनुकूलका कामदार ल्याउने गरेकाले पनि अहिले गाउँमा बेरोजगारी सिर्जना उत्पन्न हुने गरेको युवाको गुनासो छ । युवालाई गाउँमा रोक्न सक्ने त्यस्तो खालको रोजगारीको व्यवस्था गर्न नसकेकाले पछिल्लो समय यहाँका धेरै युवा कामको खोजीका लागि भारत जाने गरेको बुढीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।