• २ पुस २०८२, बुधबार

वडामै पुगेर स्वास्थ्य शिविरसहित कृषि, पशु र रोजगार सेवा

blog

मालिका गाउँपालिकाको एकीकृत घुम्ती शिविर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा(गुल्मी), पुस २  गते ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । मालिका गाउँपालिका– ८ मर्भुङ्ग स्वास्थ्यचौकीबाट एकीकृत घुम्ती शिविर कार्यक्रमको शुभारम्भ गरिएको छ ।  उक्त कार्यक्रममा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, निःशुल्क स्वास्थ शिविर (नाक, कान, घाँटी, आखाँ र दाँत), ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, पशु स्वास्थ शिविर, किसान सुचिकरण र रोजगार सेवा तथा परामर्श सम्बन्धी सेवा प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विवेक खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा १६२ जनाको नाक, कान र घाँटीको चेकजाँच, दाँत ११५ र आँखा ११२ गरी जम्मा ३८९ जनाको निःशुल्क स्वास्थ परीक्षण गरिएको खनालले बताउनुभयो । त्यसैगरी पशुसेवासँग सम्बन्धी  ५२ जनालाई औषधी वितरण तथा पशुरोग परामर्श सेवा प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले एकीकृत घुम्ती शिविरले पालिका पुग्न असहज हुनेहरुका लागि वडामा सेवा पाउँदा सहज हुने बताउनुभयो । उहाँले जनतालाई छिटो र छरितो तरिकाले सेवा प्रदान गर्न पुराना शैली र सोँचहरुको परिवर्तन आवश्यक भएको बताउनुभयो । गाउँपालिका उपप्रमुख उपेन्द्र अर्यालले स्थानीयको माग र आवश्यकताको आधारमा वडास्तरमा एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताउनुभयो । पालिकाका सातवटै वडामा शिविर सञ्चालन हुनेछ । मालिका गाउँपालिका भुगोलले बिकट भए पनि स्वास्थ्यको क्षेत्रमा अगाडि बढेको छ ।

मालिका गाउँपालिकामा १५ शय्याको अस्पताल  निर्माण भइरहेको छ । पालिकाका आठ स्वास्थ्यचौकी मध्ये सात वटाको नेपाल सरकारकै मापदण्ड अनुसारको भवन रहेका छन् भने ह्वाङदी स्वास्थ्यचौकी निर्माणको काम अगाडि बढेको छ । गाउँपालिकाका आठ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर सञ्चालनमा छन् । तीन वटा सामुदायिक स्वास्थ्य केन्द्रमध्ये अर्जेबेसीको बाहेक दुई संस्थाको भवन रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक तारा जिसी अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा भइसकेको छ । पोषणमैत्री बन्ने अभियान चलिहरेको छ । गाउँपालिकाले प्रत्येक टोलहरुमा पुगेर आँखा जाँच, शल्यक्रिया तथा अरु रोगहरुका लागि विशेषज्ञ स्तरको शिविरहरु गरिरहेको अर्यालले बताउनुभयो । गाउँपालिकाले हरेक स्वास्थ्य संस्थामा तीनतीन महिनामा ग्रामीण अल्ट्रासाउण्ड सेवासहित अपाङ्गत परिचय पत्र वितरण नियमित रुपमा गरिरहेको छ ।