• २ पुस २०८२, बुधबार

सर्वोत्कृष्ट करदातालाई परिसङ्घको सम्मान

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २ गते । नेपाल उद्योग परिसङ्घले सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८२ को अवसरमा उच्च करदातालाई परिसङ्घले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सोही उच्च करदातालाई निजी क्षेत्रका तर्फबाट परिसङ्घले सम्मान गरेको हो ।

मङ्गलबार परिसङ्घ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो । सो अवसरमा उहाँले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रति महìवपूर्ण योगदानसमेत भएको बताउनुभयो । उच्च करदाताका रूपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसङ्घले पनि सम्मान गरेको उहाँले बताउनुभयो । 

सम्मानित हुनेमा वस्तु निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेल लिमिटेड छन् । त्यस्तै वस्तु व्यापारको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भोटेकोशी पावर कम्पनी प्रालिलाई परिसङ्घले सम्मान गरेको छ । 

यस्तै कृषि एवं पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने पोसक ब्रिडर फार्म प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भेरिस्क नेपाल प्रालि सम्मानित भएका छन् । त्यस्तै एकलौटी फर्ममध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेसनल, बैङ्क वित्तीय संस्था र बिमाको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसङ्घबाट सम्मानित भएका छन् । 

यसै गरी रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने आइएमई लिमिटेड, निकायमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार रकम ५० करोड रुपियाँभन्दा बढी एक अर्ब रुपियाँसम्म कारोबार गर्ने कारदातामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सिडिएस एन्ड क्लियरिङ लिलाई सम्मानित गरिएको छ । 

उच्च करदाता सम्मान कार्यक्रममा परिसङ्घका उपाध्यक्ष राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।