गोरखापत्र समाचारदाता
ललितपुर, पुस २ गते । नेपाली कांग्रेसले क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता वितरण फाराम पठाउने भएको छ । कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्य व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकले क्रमसङ्ख्या राखेर फाराम पठाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्य प्रकाश स्नेही रसाइलीले नयाँ क्रियाशील सदस्यताको फाराम छापिसकिएकाले बुधबार सबै जिल्लामा पठाइने बताउनुभयो । उहाँका अनुसार झन्डै चार लाख क्रियाशील सदस्यता फाराम ७७ वटै जिल्लामा पठाइने छ । उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेको जेनजी आन्दोलनभन्दा पहिला २५ प्रतिशत क्रियाशील सदस्यताको फाराम जिल्लामा पुगिसकेको थियो । बाँकी क्रमसङ्ख्या नभएकाले फिर्ता गरेर क्रमसङ्ख्या भएकै फाराम पठाउने तयारीमा समिति जुटेको छ ।”
नेता रसाइलीले फाराम भरेर आएका क्रियाशील सदस्यको तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री) भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली जनसम्पर्क समिति रहेको ३७ वटा देशमा पनि सदस्यता वितरण र तथ्याङ्क प्रविष्टि भइसकेको छ । उहाँले भन्नुभयो, “क्रियाशील सदस्यताको विषय केही दिनमै टुङ्गो लाग्ने छ । द्रुत गतिमा काम अघि बढाइएको छ ।”
सभापति र डा. कोइरालाबिच भेट
कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबिच मङ्गलबार भेटवार्ता भएको छ । डा. कोइरालाले क्रमसङ्ख्याबिनै फाराम पठाएको विषयसँगै केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवासहित समसामयिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो । डा. कोइरालाले पार्टीका नेता कार्यकर्ताको कारबाही फुकुवा गरी महाधिवेशन र निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने बताउनुभयो ।