• ८ मंसिर २०८१, शनिबार

नापतौल र प्रशासनविरुद्ध बजार बन्द

blog

उदयपुर, असार २५ गते । असार मसान्तको चटारोमा नियतवश स्थानीय प्रशासन र नापतौल विभागले दुःख दिने काम भएको भन्दै उदयपुरका व्यापार व्यवसायी त्यसको विरुद्धमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुर र नापतौल विभागले दुःख दिएको भन्दै सोको विरुद्धमा उनीहरूले शुक्रबार उदयपुरको सदरमुकाम गाईघाट बजार बन्द गराएका छन् । 

त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटको अगुवाईमा व्यापार व्यवसायीहरूले नाराबाजीसहित बजार परिक्रमा गरेर बन्द गराएका थिए । नापतौल विभागले समयमा नवीकरण नगरिदिने र उल्टै अहिले प्रशासनसँग मिलेर अनुगमनको नाममा नवीकरण गरेको छैन भन्दै व्यापारीलाई दुःख दिने काम भएपछि सोको विरुद्धमा आन्दोलनमा उत्रिनुपरेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो । 

सङ्घले नापतौल कार्यालय विराटनगरलाई पटक पटक पत्रचार गरी नवीकरणका लागि अनुरोध गर्दासमेत बेवास्ता गरेको तर अहिले त्यही बहानामा तनाव दिने काम गरिरहेको आरोप अध्यक्ष रसाइलीले लगाउनुभएको छ । 

असार मसान्तमा आफ्नो हिसाब किताब मिलाउन व्यस्त रहेको अवस्थामा व्यापारी, व्यवसायीलाई पटक–पटक अनुगमनको नाममा दुःख दिने काम भएको सङ्घका उपाध्यक्ष नवीन बस्नेतले बताउनुभयो । प्रशासन र नापतौलले नियमन गर्नेभन्दा पनि दुःख दिने नियत प्रष्ट भएकोले आन्दोलित हुनुपरेको उहाँले बताउनुभयो ।