• १३ साउन २०८१, आइतबार

अवैध आयात रोक्न माग

blog

सिराज खान

नेपालगञ्ज, असार २५ गते । अवैध आयात र चोरी निकासी रोक्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफल कार्यक्रममा यस क्षेत्रका जनप्रतिनिधि, प्रहरी, प्रशासन, भन्सारकर्मी, उद्योगी व्यवसायी सबैले अवैध आयात रोक्ने प्रतिबद्धता गरेका हुन् । 

खुला सिमानाका कारण अवैद्य आयात निर्यात नियन्त्रणमा समस्या भए पनि रोक्नैपर्ने अवस्था आएको उहाँहरूले प्रतिबद्धता जनाउनुभएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अवैध आयात नियन्त्रण गर्न प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । 

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि अवैध आयात निर्यातलाई शून्यमा झार्न प्रहरी दिनरात सक्रिय रहेको र आगामी दिनमा पनि रहने बताउनुभयो । यस्तै सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी गणका प्रहरी उपरीक्षक जनक बस्नेतले सीमा नाकामा अत्यधिक कडाइ गरिएका अवैध आयात कम भएको जनाउँदै अब झनै कडाइ गरिने बताउनुभयो । 

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपानेले सीमापारिबाट राजस्व छलेर भिœयाइने सामानमाथि भन्सार कार्यालयले कडा निगरानी गरिरहेको जनाउँदै त्यस्ता सामान बरामद गर्ने गरिएको बताउनुभयो ।   नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अवैध आयात रोक्न प्रहरी प्रशासन असफल रहेको आरोप लाग्दै आएको बताउँदै यसबारे उपमहानगरले अध्ययन गर्ने जानकारी दिनुभयो । उहाँले जमुनाह नाकामा निगरानी बढाउन उच्च गुणस्तरको सीसीटीभी क्यामरा र डिस्प्ले बोर्ड लगाउन उमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घका महासचिव चिरञ्जीवी ओली, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका सल्लाहकार नन्दलाल वैश्यलगायतले अवैध आयातको समस्या गम्भीर रहेको ठहर गर्दै समाधानका उपायबारे सुझाव दिनुभएको थियो ।  घरायसी प्रयोगको नाममा दैनिक ठूलो परिमाणमा सामान सीमापारिबाट आउँदा नेपालगञ्जको व्यापार प्रभावित हुँदै आएको गुनासो स्थानीय व्यवसायीले लामो समयदेखि गर्दै आएका छन् ।