• १२ माघ २०८२, सोमबार

कृषकलाई अनुदानमा हाते ट्याक्टर प्रदान

blog

इमान सिं राना
रामपुर(पाल्पा), माघ १२ गते ।
जिल्लाको रामपुर नगरपालिका ७ का कृषकलाई अनुदानमा मिनी टेलर (हाते ट्याक्टर) वितरण गरिएको छ । पछिल्लो समय गाउँघरमा गोरु पाल्न छोडेको अवस्थामा ग्रामीण भेगका कृषकको सहजताका लागि वडा कार्यालयले मिनी टेलर उपलब्ध गराएको हो ।

कृषिमा आधुनिकिकरणसँगै कृषकलाई खनजोतमा सहजता प्रदानका लागि ५० प्रतिशत मिनीटिलर वितरण गरेको हो । वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले  खनजोतका लागि गोरु पाल्ने प्रचलन हराउँदै गैरहेको सन्दर्भमा वडाको माथिल्लो भेगका कृषकको समस्यालाई मध्यनजर गर्दै मिनी टेलर वितरण गरिएको बताउनुभयो । ‘‘वडाको तल्लो भेगका कृषकले ट्याक्टर प्रयोग गरी सहजै सेवा लिने अवसर पाए पनि माथिल्लो भेगका कृषकलाई साना गाह्रो भएका खेत बारीमा गोरु नहुँदा समस्या भएकाले ट्याक्टर वितरण गरिएको हो ।’’ उहाँले भन्नुभयो ।

वडा कार्यालयले मिनी टेलर वितरणका लागि चालु आर्थिक वर्षमा दुई लाख १० हजार विनियोजन गरेको थियो । ६० हजार मूल्य बराबरको मिनी टेलर  ५० प्रतिशत अनुदान सात कृषकलाई वितरण गरेको हो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले आधुनिक औजारको प्रयोग बाट कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो ।  

कृषकहरु सँँग माग निवेदन सङ्कलन गरी विनियोजित बजेट मार्फत अनुदानमा मिनी टेलर वितरण गरिएको वडा सचिव गिता पौडेल लम्सालले जानकारी दिनुभयो । कृषक तिलबहादुर श्रेष्ठले कृषकहरुको मागलाई मध्यनजर गदै मिनि टेलर उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।