गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २५ गते । उत्पादकत्व वृद्धिका लागि पशुपन्छीको नश्ल सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । सरकारले नै विदेशी प्रजातिको नश्ललाई भित्र्याउन सहयोग गरिरहेको छ । यसरी विदेशी नश्ल भित्र्याउँदा रैथाने पशुपन्छी सङ्कटमा परेको अवस्थालाई भने त्यति ध्यान दिन सकिएको छैन ।
अहिले दूध, मासु, अण्डाको उत्पादन वृद्धिका लािग अव्यवस्थित रूपमा विदेशी नश्ल भित्र्याई स्थानीय पशुमा वर्णशङ्कर बनाउने गरिएको छ । किसानले पनि व्यावसायिक रूपमा त्यसैमा ध्यान दिएका छन् । अहिले तत्कालका लागि उत्पादनमा वृद्धि गरे पनि भविष्यमा नेपालको कृषिमा सिधै असर पर्ने राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा. बालकृष्ण जोशीले बताउनुभयो ।
अहिले सरकार तथा निजी क्षेत्रले पनि जथाभावी सिमेन (विर्य) ल्याएर स्थानीयमा वर्णशङ्कर गराएर स्थानीय जात विस्थापन गरिरहेको उहाँले बताउनुभयो । डा. जोशीले भन्नुभयो, “नश्ल सुधारका नाममा विदेशबाट आउने सिमेनमा स्ट्याबलिटी हुँदैन, जीनको बनोट राम्रो हुँदैन, रोग सहने क्षमता कम हुन्छ, जे पायो त्यही खाँदैन र नेपालको परिप्रेक्ष्यमा यस्तो धेरै दिनसम्म निरन्तरता दिन सकिँदैन ।”
राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वैज्ञानिक शिशिर भण्डारीले विदेशबाट ल्याइएको सिमेन प्रयोग गर्दा भविष्यमा नेपालमा सङ्कट आउन सक्ने र त्यसले खाद्य सुरक्षामा असर पार्न सक्ने चेतावनी दिनुभयो । वैज्ञानिक भण्डारीले भन्नुभयो, “खाद्य सुरक्षाका लागि भए पनि रैथाने जातका पशुपन्छीलाई जोगाउनुपर्छ ।” विदेशी नश्ल ल्याएर नेपालमा प्रजनन गराउने नीति लिइँदा कतिपय रैथाने जातका पशुपन्छी लोप पनि भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा रहेको आनुवंशिक अनुसन्धान केन्द्रले जनाएको छ ।
रैथाने जात
आनुवंशिक अनुसन्धान केन्द्रका अनुसार संयुक्त राष्ट्रसङ्घको खाद्य एवं कृषि सङ्गठनमा नेपालले सात प्रकारका पशुपन्छीका २५ वटा रैथाने नश्ल मात्र दर्ता गराएको छ । यसमा बाख्राको तराई, खरी, सिन्हाल, च्याङ्ग्रा गरी चार, भैँसीको लिमे, पार्काेटे, गड्डी गरी तीन, गाईको तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी र याक गरी सातवटा, भेडाको लामपुच्छ«े, कागे, बरुवाल र भ्याङ्लुङ गरी चार, सुँगुरको हुर्रा, बामपुड्के, च्वाँचे गरी तीन, कुखुराको साकिनी, घाँटी खुइले, प्वाखउल्टे गरी तीन र घोडाको जुम्ली घोडा एक गरी २५ वटा रैथाने नश्ल छन् । यसमध्ये नेपालको सिरी गाई लोप भइसकेको छ ।
वैज्ञानिक भण्डारीका अनुसार रैथाने गाईमध्ये तराई र पहाडी गाईको सङ्ख्या राम्रो छ भने अरू गाईको अवस्था लोपोन्मुख छ । त्यस्तै भैँसीतर्फ पार्काेटेबाहेक अन्य भैँसीको सङ्ख्या एकदमै न्यून छ । हालसम्म खरी जातको बाख्राको अवस्था राम्रो छ । बङ्गुरमा च्वाँचेबाहेक अरू जात लोप भइसकेका छन् । कुखुरामा साकिनीको अवस्था राम्रो छ भने अन्य जातको अवस्था चिन्ताजनक छ । आनुवंशिक केन्द्रका वैज्ञानिकले लोप भइसकेको सिरीजस्तै देखिने एउटा गाई भेटेपछि त्यसमाथि भुटानी सिरी गाईसँग तुलनात्मक अध्ययन गरिरहेको छ ।
वैज्ञानिक भण्डारीका अनुसार स्थानीय प्रजातिमा विदेशी नश्लको विर्य प्रयोग गरेर नश्ल सुधार गर्दा वर्षौं लाग्छ । एउटा बाख्राको नश्ल सुधार गर्न तीनदेखि चार पुस्ता लाग्न सक्छ । त्यति मेहनत गरेर सुधार गरिएको नश्ल पनि भरपर्दो नहुने उहाँले बताउनुभयो ।
अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा. जोशीका अनुसार धेरै दूध वा मासु उत्पादनका लागि अहिले उन्नत नश्ल खोज्ने चलन बढेको र सरकारी नीतिले पनि रैथानेलाई संरक्षण गर्नुभन्दा उन्नत जातलाई प्रश्रय दिएको छ । जसले स्थानीय रैथाने जात हराउँदै गइरहेका छन् । रैथाने जातको पशुपन्छीको पनि राम्रोसँग स्याहारसुसार गरेमा, खानपिन र स्वास्थ्यमा ध्यान दिने हो भने विदेशी नश्लजतिकै उत्पादन दिने विभिन्न अध्ययनले देखाएको यहाँले बताउनुभयो ।
“किसानले रैथाने जातको गाईबस्तुमाथि त्यति ध्यान दिँदैनन् । विदेशबाट ल्याएको छ भने खानपिन, बासस्थानमा पनि विशेष ध्यान दिएका कारण उत्पादनमा वृद्धि हुने गरेको छ । त्यति मेहनत रैथानेमा गरे भने त्यति नै उत्पादन लिन सकिन्छ,” उहाँले भन्नुभयो । भण्डारीले पनि रैथाने प्रजाति पाल्ने किसानले उचित खाना र व्यवस्थापनमा ध्यान नदिएकाले उत्पादनमा कमी आएको बताउनुभयो ।
स्थानीय प्रजातिको साकिनी कुखुराले खाना र व्यवस्थापनमा ध्यान दिँदा उन्नत नश्लकै हाराहारीमा अण्डा दिएको अनुसन्धानले देखाएको छ । नेपालका रैथाने अछामी, सिरी, लुलु गाईको खानपानमा ध्यान दिने हो भने त्यसले पनि विदेशी नश्लकै हाराहारीमा उत्पादन दिने उहाँले दावी गर्नुभयो । भण्डारी र सापकोटाका अनुसार महामारीजन्य दुर्घटना भयो भने नेपालमा विदेशी नश्ल बाँकी नरहन सक्छ । त्यस्तो अवस्थालाई ध्यानमा राखेर पनि रैथाने नश्ल जोगाउनु जरुरी रहेको वैज्ञानिक तथा अनुसन्धानकर्ता बताउँछन् ।