• २१ मङ्सिर २०८२, आइतबार

भम्बक युनाइटेड कपको उपाधि एनवाइसीलाई

blog

विजेता टिमलाई पुरस्कार प्रदान गरिँदै ।तस्विर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), मङ्सिर २१ गते । दोस्रो भम्बक युनाइटेड कपको उपाधि एनवाइसी नरेठाँटी गल्कोटले हात पारेको छ ।

 फाइनल खेलमा आयोजक भम्बक युनाइटेड क्लबलाई पराजित गर्दै एनवाइसीले उपाधि जित्न सफल भएको हो ।

जिल्लाको रामपुर नगरपालिका–५, भम्बक भएको क्लब स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एनवाइसीले आयोजक ३–० को सोझो सेटमा पराजित गरेको हो ।

 फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट २५–२२, २५–१३ र २५–२० अङ्क सहित एनवाइसीले जित निकालेको थियो । यससँगै आयोजक भम्बक युनाइटेड क्लबले उपविजेतामा चित्त बुझाएको छ ।

 प्रतियोगितामा पाल्पा भलिबल सङ्घ तृतीय र ठकुरी समाज, शुक्लागण्डकी तनहुँ सान्त्वना भएको छ ।

तृतीय स्थान छनाेटका लागि भएको खेलमा पाल्पा भलिबल सङ्घले ३–१ सेटको जित निकालेको थियो । खेलमा पहिलो, दोस्रो र चौथो सेट पाल्पा भलिबल सङ्घ २५–२३, २५–२३ र २५–१५ अङ्क सहित हात पारेको हो । तेस्रो सेट ठकुरी समाजले २५–२० अङ्क सहित हात पारेको थियो । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद दुई लाख, एक लाख, ५० हजार र ३० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

भम्बक खेल मैदानमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनवाइसी नरेठाँटी, गल्कोटका सन्जु विक्रम शाह, उत्कृष्ट सेटर एनवाइसीका सन्तोष वि.क., उत्कृष्ट स्पाइकर भम्बक युनाइटेडका रवि केसी, उत्कृष्ट ब्लकर एनवाइसीका विश्वास अधिकारी, उत्कृष्ट डिफेन्डर एनवाइसीका राजन दर्लामी मगर, उदीयमान खेलाडी एनवाइसी कै विप्लव शाही ठकुरी घोषित भएको खेल संयोजक अनुप मल्लले जानकारी दिनु भयो । 

सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य विद्यामा उत्कृष्ट खेलाडीलाई नगद ५र५ हजार सहित ट्रफी प्रदान गरिएको छ ।

विजयी समूहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले भलिबल खेलप्रति आकर्षण बढ्दै गएको भन्दै आवश्यक पूर्वाधार विकास तथा सीप विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 युवाहरूलाई खेलकुद प्रति उत्प्रेरणा जगाउनुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान तथा नयाँ खेलाडी उत्पादनमा टेवा दिन दोस्रो संस्करणको भलिबल प्रतियोगिता आयोजना गरिएको भम्बक युनाइटेड युथ क्लबका अध्यक्ष बालकृष्ण कुमालले बताउनु भयो ।

 गत मङ्सिर १६ गते देखि सुरु भएको क्लब स्तरीय भलिबल प्रतियोगितामा पाँच क्लबको सहभागिता रहेको थियो ।