• १६ भदौ २०८१, आइतबार

निर्धारित मितिमै प्रतियोगिता हुन्छ : खेलकुदमन्त्री

blog

काठमाडौं, असार २४ गते । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता सञ्चालन हुने बताउनुभएको हो ।

कोभिडका कारण लामो समयदेखि रोकिएको प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले भव्यरुपमा प्रतियोगिता सञ्चालन हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

“यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्ने छौं । उपयुक्त मौसमलाई छनोट गरी दशैं सकेर प्रतियोगिता सञ्चालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिनेछ” मन्त्री गहतराजले भन्नुभयो, “मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।”

मन्त्री गहतराजले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी खेलकुदमन्त्री गहतराजले शुक्रबार मुल आयोजक समितिको पहिलो बैठक बोलाउनुभएको हो । 

बैठकमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा तीनवटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता रहेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागीता जनाउने छन् ।

बैठकले प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न निर्णयहरु पारित गरेको छ । मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा व्यवस्थापनका लागि कार्यकारी समिती गठन गर्ने र १४ वटा उपसमिति गठन गर्नेलगायतका निर्णयहरु रहेका छन् ।

पहिलो बैठकका मुख्य निर्णयहरु :
१) आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने ।
२) प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।
३) प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने ।
४) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिस्पर्धा गराउने ।
६) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफि निर्माण गरीने र उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।
७) लगातार तीन वटा प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गरिने ।
८) प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत ।