साजन परियार
फलेवास, पर्वत, चैत २ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुनेछ र जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने तयारी भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतले जनाएको छ।
जिल्लाभर ९ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न सम्बन्धित परीक्षा केन्द्रका शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिइने व्यवस्था गरिएको छ। साथै, परीक्षा व्यवस्थापनका लागि अनुगमन, सुरक्षा र आवश्यक तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जानकारी दिएको छ।
घट्दो विद्यार्थी र गुणस्तर
पर्वत जिल्लामा हरेक वर्ष एसईईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ। गत वर्ष एक हजार ८१३ विद्यार्थी परीक्षा दिएका थिए भने अघिल्लो वर्ष सङ्ख्या दुई हजार ५० थियो।
समन्वय इकाई प्रमुख मतिलाल चपाईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा विद्यार्थीको सङ्ख्या घट्दा विद्यालयमा पढ्ने विद्यार्थी पनि कम हुँदै गएको छ। ग्रामीण क्षेत्रबाट बसाइँसराइ, अभिभावकको रोजगारीका लागि विदेश वा शहरतर्फ पलायन, निजी विद्यालयप्रति आकर्षण बढ्नु र घट्दो जन्मदर यस घट्दो सङ्ख्याका मुख्य कारण हुन्।
जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला, महाशिला, मोदी र पैयुँ गाउँपालिकाका केही सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको छ। जिल्लाका ३२ भन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य पुगेको छ र विद्यालय समायोजन प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।
शिक्षा सरोकारवालाहरूको भनाइ अनुसार, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सके विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सहज हुने बताइएको छ।