जेरुसेलम, मङ्सिर १७ गते । इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सिमा नाका खोली गाजाका बासिन्दालाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने बुधबार बताएको छ । “युद्धविराम सम्झौता अनुसार आगामी दिनमा गाजा पट्टीबाट इजिप्ट जाने बासिन्दाका लागि राफाह सीमा नाका खोली प्यालेस्टिनी क्षेत्रमा नागरिकको निरीक्षण गर्ने इजरायली रक्षा मन्त्रालयको निकाय “कोगाट” ले विज्ञप्तिमार्फत जनाएको छ ।
कोगाटले सीमा इयूको सीमा सहायता मिसनको सुपरिवेक्षणमा सञ्चालन हुने जनाएको छ । यस अघि पनि जनवरी २०२५ मा यो सिमा छ हप्ताको युद्धविरामको समयमा छोटो समयका लागि खोलिएको थियो । दुई युरोपेली कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले यस अघि अक्टोबर-१४ मा पैदल यात्रीका लागि सीमा खोल्ने तयारी गरिरहेको जनाएको छ ।
राफाह सीमा पुनः खोल्नु प्यालेस्टिनी क्षेत्रका लागि युद्धविराम तथा शान्ति योजनाको एक हिस्सा हो जुन संयुक्त राष्ट्रका एजेन्सी र अन्य मानवीय अभियानताले लामो समयदेखि माग गर्दै आएका छन् । इजरायली सेनाले सन् २०२४ मे महिनामा सीमाको प्यालेस्टिनी पक्षको क्षेत्र नियन्त्रण लिएको थियो, यसलाई हतियार तस्करीको शङ्काका साथ “आतङ्कवादी उद्देश्यका लागि प्रयोग” भइरहेको दाबी गरेको थियो ।
यस अघि इजरायल र हमासबिचको युद्धविरामको समयमा पनि यो सीमा नाका केही समयका लागि खोलिएको थियो । राफाह सिमा मानवतावादी कामदार र सहायता, खाना र इन्धन ढुवानीका लागि मुख्य प्रवेश विन्दु हो भने लामो समयदेखि, गाजाका प्यालेस्टिनीका लागि मुख्य निकास विन्दु थियो । रासस/एएफपी