• १३ साउन २०८१, आइतबार

अनुगमन तीव्र बनाउँदै बागमती

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते  । बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सम्पर्क कार्यालय ललितपुरमा खुल्ने भएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले काठमाडौँ उपत्यकासँगै अरू सहरमा रहेका सहकारी संस्थाको अनुगमन र सेवा प्रवाहका लागि ललितपुरमा सम्पर्क कार्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो । 

सम्पर्क कार्यालय स्थापनाका लागि मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिँदै यस कार्यालयबाट काठमाडौँ उपत्यकासहित रामेछाप, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकका सहकारी संस्थाले प्रत्यक्ष लाभ लिने मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिनुभयो । सामान्य काम लिएर हेटौँडा जाँदा टाढा पर्ने भएकाले सहज होस् भन्ने उद्देश्यले कार्यालय राखिएको सचिव निरौलाले दाबी गर्नुभयो । 

बागमती प्रदेशमा रहेका ११ हजार सहकारी संस्थामध्ये एउटा स्थानीय तहभित्र कार्यक्षेत्र रहेका करिब आठ हजार स्थानीय तहअन्तर्गत पर्ने भएकाले त्यसको अनुगमन स्थानीय तहले नै गर्छन् । जिल्लाभर कार्यक्षेत्र रहेका सहकारी संस्थाको अनुगमन, सहजीकरणको दायित्व प्रदेश सरकारको रहेकाले तीन हजार सहकारी संस्थाको अनुगमन आफूहरूले गर्ने निरौलाले बताउनुभयो ।