• १२ माघ २०८२, सोमबार

बाजुराका महिलालाई चेलत्यार दिन चटारो

blog

चेलीलाई त्यार दिन जाँदै बाजुराका महिला । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, माघ १२ गते । बाजुराका महिलालाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो छ । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा माघ महिना पूरैसम्म विवाह गरेर पोइली घरमा रहेकी चेलीलाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने प्रचलन छ । 

त्यही प्रचलनअनुसार यतिबेला यहाँका महिलालाई आफ्नो चेलीलाई चेल्त्यार ( सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो परेको हो । प्रत्येक वर्षको माघ १ गतेदेखि अन्तिमसम्म यहाँका स्थानीयले विवाह गरी पोइली घरमा गएकी चेलीलाई चेलत्यार दिने प्रचलन कायमै रहँदै आएकाले यहाँका महिलालाई चेलत्यार दिने चटारो परेको बुढीगङ्गा नगरपालिका –४ बाँनेगाउँकी सरिता खत्रीले बताउनुभयो । 

उहाँले भन्नभुयो, “माइती घरदेखि विवाह गरेर पोइली घर गएकी जुनसुकै छोरीलाई यो माघ महिनाभित्र अर्थात् माघ अन्तिमसम्म चेलीलाई घरमा गएर ‘चेलत्यार’ (त्यारमाडोे) दिने चलन छ ।” 

आफनो माइती नभएका अर्थात आमाबुबा, दाइ, भाउजू नभएका छोरीचेलीलाई भने यो महिना खल्लो हुनेगरेको खत्रीले बताउनुभयो । बाजुरामा माघको महिनाभरि माइतीले छोरीलाई रोटी अर्थात त्यार दिने गर्दछन् । 

माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङगलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएर बिताउने गर्छन् । माघ महिनाभरि यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात् ‘चेली त्यार’ (सेलपुरी बनाएर चेलीलाई दिने काम) ल्याउलान् भन्ने पर्खाइमा हुन्छन् ।

यो महिना चेलीहरुको माइती गाउँदेखि त्यार ल्याउने आशलाग्दो महिना हो । प्रायः यो महिनाभरि यहाँका धेरै महिला दिदिबहिनीहरु माइतीघरदेखि पाहुनाको परखाईमा बस्ने गर्छन् ।

छोरीलाई दिइने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्तादिन पुग्नेगरी दिने चलन छ । 

माघ महिनाभरी सुदूरपश्चिमका कैलाली कञ्चनपुर बाहेक अन्य सबै जिल्लामा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू प्रशस्त भेटिने गर्दछन् । सुदूरपश्चिममा यो माघ महिनालाई धार्मिक महिनाका रूपमा पनि लिने गरिन्छ । 

यो महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ । जनविश्वासले यहाँका स्थानीयवासीले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गर्दछन् । 

माघ महिना लाग्यो कि घरमा सेलपुरी पाक्न सुरु हुन्छ । वनदेखि तरुल र घरमा सेलपुरी हालेर छोरीलाई त्यार दिनुपर्छ । छोरीहरुलाई यही महिनाभित्र त्यार दिइ सक्नुपर्ने बुढीगङ्गा नगरपालिका –१० का पदम नेपालीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “माइतीघरदेखि पोइली घरमा गएकी चेलीलाई सबै त्यार भाडो दिने प्रचलन छ । पहिला पुस्ताले के कसरी के कारणले यो प्रचलन ल्याएका थिए । हामीले पनि त्यही चलनअनुसार माघको महिनाभित्र चेलीलाई त्यार दिने गरेका छौं ।” माघ महिनाभित्र त्यार दिन नसकेपछि फागुनमा त्यार दिँदा चोली र गुनियासमेत दिनुपर्ने प्रचलन रहेको नेपालीले बताउनुभयो ।