काठमाडौँ, मङ्सिर १६ गते । गोरखापत्र दैनिकबाट बहुभाषामा समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४६ पुगेको छ । वि.सं. २०८२ मङ्सिर १६ गते मङ्गलबारबाट प्रकाशन प्रारम्भ भएको कुलुङ भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४६ पुगेको हो ।
आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कुलुङ भाषामा समाचार प्रकाशन भएको पृष्ठको सार्वजनिक गर्नुभयो ।
समारोहमा मन्त्रालयका सचिव राधिका अर्याल, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, गोरखापत्र सञ्चालक समिति सदस्य लक्की चौधरी, राइजिङ नेपालका सम्पादक विस्णु गौतम, विभागीय प्रमुखहरुलगायत सहभागी हुनुहुन्छ ।

गोरखापत्रमा २०६४ असोज १ गतेदेखि विभिन्न मातृभाषाका समाचार सामग्री समेटिएको ‘नयाँ नेपाल बहुभाषिक पृष्ठ’ प्रकाशन प्रारम्भ भएको थियो । २०६२–६३ को जनआन्दोलनपछि जारी नेपालको अन्तरिम संविधान २०६३ ले विभिन्न मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएपछि नेपालको संवैधानिक इतिहासमा पहिलो पटक बहुभाषा नीतिले संवैधानिक मान्यता पाएको थियो । यो संवैधानिक व्यवस्था २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानमा पनि छ ।
मुलुकको समावेशिता र बहुभाषिक नीतिलाई कार्यान्वयन गर्न गोरखापत्र संस्थानको सञ्चालक समितिले २०६४ साउन ४ गते नयाँ नेपाल शीर्षकअन्तर्गत बहुभाषिक पृष्ठ प्रकाशन गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलनताका ‘नयाँ नेपाल’ बहुप्रचलनमा थियो ।
यसै अनुसार गोरखापत्रमा छ भाषा– तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेपाल (नेवार) भाषामा सामग्री प्रकाशन भएका थिए । हाल तीलगायत उर्दु, थारू, भोजपुरी, शेर्पा, जिरेल, थामी, किसान, ताजपुरिया, बाहिङ राई, वान्तबा राई, अवधी, सुनुवार, मगर, धिमाल, बज्जिका, कुमाल, मगही, बराम, संस्कृत, उराँव, माझी, मुगाल, अछामी, डोट्याली, दराई, मेचे, जुम्ली, चेपाङ, मारवाडी, ल्होमी, राजवंशी, दनुवार, बझाङी, ह्याल्मो, याक्खा, डडेलधुरेली, नेपाल भोटे, रानाथारू, वाम्बु र कुलुङ भाषा समावेश भई ४६ भाषाका पृष्ठ प्रकाशन भइरहेका छन् ।