• १४ असार २०८१, शुक्रबार

माओवादीको केन्द्रीय समिति बैठक

माओवादीको ४१ सदस्यीय स्थायी समिति : श्रेष्ठ र महरा उपाध्यक्ष

blog

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा बिहीबार सम्बोधन गर्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौं, असार २३ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक बिहीबार सम्पन्न भएको छ। बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगाइएको माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले जानकारी दिनुभयो। 

यसैगरी वैकल्पिकसहित एक सय ५६ सदस्यीय पोलिटब्यूरो समिति टुंगो लगाइएको उहाँले बताउनुभयो। बैठकपछि सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले भन्नुभयो, “बैठक सम्पन्न भएको छ। केही दिनभित्रै पदाधिकारी चयन हुन्छ। स्थायी सदस्य ४१ र पोलिटब्यूरोमा एक सय २५ सहित वैकल्पिक सदस्य पनि छन्।”

उहाँले स्थायी समितिमा १५ जनाको नाम टुंगो लागेको र बाँकी संख्याको विवरण चाँडै प्राप्त हुने बताउनुभयो। कतिपय प्रदेश र वरिष्ठ नेता वैकल्पिक पोलिटब्यूरोमा रहनुहुने उहाँको भनाइ छ। 

स्थानीय तहको निर्वाचनमा घात, अन्तरघात गर्नेलाई अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा छानबिन गर्ने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले केन्द्रीय समितिमा १५ प्रतिशत दलित, २० प्रतिशत युवा र ३५ प्रतिशत महिला तथा मुस्लिमको सहभागीता हुने पार्टीको विधान र आठौं महाधिवेशनको निर्णयको आधारमा केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय भएको बताउनुभयो।

यसैगरी, सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नारायणकाजी श्रेष्ठ र महरालाई उपाध्यक्षमा चयन गरेको जानकारी दिनुभयो। 

महराले भन्नुभयो, “आज केन्द्रीय समितिको बैठक बस्यो, आजको बैठकमा सबैभन्दा पहिले अध्यक्षले राजनीतिक प्रतिवेदनमा जुन छलफल उठेको थियो, त्यसको जवाफ दिनुभयो। संगठन सम्बन्धी तीन कुरा भए। १२५ जनाको पोलिटब्यूरो भयो, वैकल्पिक हुनुहुन्छ। ४१ जनाको स्थायी कमिटी बन्यो। अहिले दुई जना उपाध्यक्ष भएका छन्, नारायणकाजी र कृष्णबहादुर महरा।” 

उहाँले अहिले स्थायी समितिमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पार्नुभयो।




Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।