• ११ पुस २०८१, बिहिबार

उपराष्ट्रपतिसँग भारतीय राजदूतको शिष्टाचार भेट

blog

उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटको क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : उपराष्ट्रपतिको नीजि सचिवालय

काठमाडौं, असार २३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपराह्न उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभयो । दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपतिले नेपाल, भारत र चीनको बीचमा रहेको बताउनुहुँदै नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने बताउनुभयो । त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उहाँको भनाइ छ ।


भेटमा उपराष्ट्रपति पुनले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको औंल्याउनुभयो । नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउनुहुँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको बताउनुभयो । उहाँले नेपालसँग भारतको विशिष्टसम्बन्ध रहेको उल्लेख गर्नुहुँदै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नेपाल भारतसम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास गर्ने बताउनुभयो ।