• ११ मंसिर २०८२, बिहिबार

कञ्चनपुर भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन

blog

कञ्चनपुर भन्सार कार्यालय । तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, मङ्सिर ११ गते । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । 

भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्ष २०८२–८३ को चार महिनामा दुई लाख ६ हजार ८०२ रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको चार महिनामा २ लाख ६२ हजार ९६ रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिए पनि सोअनुरूप राजस्व सङ्कलन हुन नसकेको जनाएको छ । 

कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले सरकारले भन्सारजन्य सामग्री आयातमा सहुलियत र कर छुट दिएकाले लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको बताउनुभयो । अर्काेतिर महाकाली पुलबाट १० टन बढी सामग्री बोक्न नपाइने भएपछि यस नाका भएर भन्सारजन्य सामानको आयात घट्दैगएको उहाँले बताउनुभयो । 

चालु आवको असोज महिनामा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व सङ्कलन भए पनि साउन, भदौ र कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन । भन्सार कार्यालय गड्डाचौकीका अनुसार, साउन महिनामा ९८ दशमलव ३३ प्रतिशत अर्थात् ५५ हजार १५८ रुपियाँ, भदौ महिनामा ८३ दशमलव ७८ प्रतिशत अर्थात् ४९ हजार ३४०, असोज महिनामा ५८ हजार ८९४ र कात्तिक महिनामा ७३ प्रतिशत अर्थात् ४३ हजार ४१० रुपियाँ राजस्व सङ्कलन भएको छ । 

यसैगरी, भन्सार कार्यालय गड्डाचौकीले विगत चार वर्षयता लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले गत आर्थिक वर्ष २०८१–८२ मा ७ लाख ४० हजार ५५९ रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । गत आवमा लक्ष्यको ८१ प्रतिशत अर्थात् ५ लाख ९७ हजार ७५९ रुपियाँ सङ्कलन भएको थियो । 

यसैगरी, आव २०८०–८१ मा पनि कार्यालयले लक्ष्यभन्दा ९ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा ५ लाख ४३ हजार ८८९ रुपियाँ राजस्व सङ्कलन गरिएको थियो । 

यसैगरी, आव २०७९–८० मा लक्ष्यभन्दा २९ प्रतिशत कम अर्थात् ४ लाख २० हजार ९९५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७८–७९ मा पनि लक्ष्यभन्दा १३ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । सो आवमा ५ लाख २७ हजार ७६० रुपियाँ लक्ष्य निर्धारण गरिए पनि ४ लाख ६२ हजार २३८ रुपियाँ मात्र राजस्व सङ्कलन गरिएको थियो ।