• १३ वैशाख २०८३, आइतबार

चन्द्रनहर अतिक्रमण हटाइने, १२६ घरटहरा भत्काइने

blog

सप्तरीको चन्द्रनहर क्षेत्रको अतिक्रमित जग्गा। तस्बिरः देवराम यादव

देवराम यादव
सप्तरी, वैशाख १३ गते । सप्तरीको ऐतिहासिक चन्द्रनहर क्षेत्रको अतिक्रमित जग्गा खाली गराउन कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजले तयारी सुरु गरेको जनाएको छ।

सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्रनहरको हेडबाँधमा हालै सरोकारवालाहरूको बैठक बसेर अतिक्रमित जग्गा खाली गराउने तयारीबारे छलफल गरिएको हो। उक्त बैठकले पहिलो चरणमा चन्द्रनहरको डिल क्षेत्रभित्र पर्ने पहिचान भएका १२६ घरटहरा भत्काउने निर्णय गरेको छ।

कार्यालयले गत चैत १६ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र जग्गा खाली गर्न आह्वान गरेको थियो। सो अवधिमा अतिक्रमण नहटेपछि सरोकारवालासहितको बैठक बोलाइएको हो।

कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार यादवका अनुसार नहर क्षेत्रमा बसोबास गरिरहेकामध्ये वास्तविक सुकुम्बासीको पहिचान गरी १५ दिनभित्र उपयुक्त जग्गा छनोट गर्ने जिम्मा सप्तकोशी नगरपालिकालाई दिइएको छ।

बैठकमा सप्तरी–१ का प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल तथा चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण महतो यादवलगायतको उपस्थिति थियो।