कास्की समाचारदाता
कास्की, मङ्सिर ११ गते । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२५ गण्डकी प्रदेशका विभिन्न जिल्लामा सुरु भएको छ । पोखरामा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ ।
अभियान अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र सङ्घर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त प्रगतिलाई ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा तिनै तहका सरकार, संसद् र नीति निर्माणका अन्य निकायमा महिलाको सहभागिता निरन्तर बढिरहेको छ ।” समानता, समावेशिता र सहभागितामूलक शासनप्रणालीलाई नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री थापाले महिलाविरुद्धको हिंसा उन्मूलनमा कानुनको प्रभावकारी कार्यान्वयन अत्यन्त जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा कास्की जिल्ला कार्यालय प्रमुख अधिकारी रुद्रादेवी शर्माले महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र अवसरयुक्त बनाउनु नै हिंसा रोकथामको मूल आधार भएको उल्लेख गर्नुभयो । राज्य, समाज, नागरिक समाज, सङ्घ संस्था र महिला अधिकारकर्मीबिच मजबुत सहकार्यले नै समस्याको समाधान हुने उहाँको भनाइ छ ।
मानव अधिकार आयोग गण्डकी प्रमुख नितु पौडेलले १६ दिने अभियानले सबै सम्बद्ध पक्षमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै मिलेर महिलाविरुद्धका सबै प्रकारका हिंसा, विभेद, उत्पीडन, अन्धविश्वास र कुसंस्कार अन्त्य गर्दै समानता र न्यायमा आधारित समुन्नत समाज निर्माणतर्फ अघि बढ्नु पर्छ ।”
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले लैङ्गिक हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी मात्र नभई भविष्यका पुस्ताप्रतिको कर्तव्य पनि भएको बताउनुभयो । उहाँले हिंसा नियन्त्रणका लागि प्रहरीले समाजसँग मिलेर काम गरिरहेको उल्लेख गर्नुभयो ।
हाम्रा बागलुङ समाचारदाताका अनुसार मङ्गलबार बागलुङमा भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पहिलो दिनको शुभारम्भ गण्डकी प्रदेश सभाकी सदस्य कुसुम बुढा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले गर्नुभयो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले महिला सचेतनामा जागरुता ल्याउने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हिंसाविरुद्ध सबै लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कार्यक्षेत्रमा हुने, घरेलु हिंसा र अन्य क्षेत्रका हिंसाबाट मुक्त समाज बनाउन राज्यका निकायबाहेक सामाजिक अभियन्तासमेत सहभागी बन्नुपर्नेमा जोड दिनुभयो । बागलुङ नगरपालिका, विभिन्न आमा समूह, प्रहरी तथा सामाजिक संस्थाले प्रभातफेरी गरेका थिए ।
त्यस्तै स्याङ्जा समाचारदाताका अनुसार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सचेतनाका विभिन्न रचनात्मक कार्यक्रमसहित यहाँ आरम्भ गरिएको छ । मङगलबार भएको पहिलो दिनको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले लैङ्गिक हिंसा अन्त्यका लागि सबै तह र क्षेत्रको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा सचेतना सँगै कानुनी उपचारबाट लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।