• ११ मंसिर २०८२, बिहिबार

मजिउनवासीको पीडा : सिटामोल लिन एक दिनको पैदल

blog

बुङ्गल नगरपालिका–२ अन्तर्गत मजिउन गाउँ । तस्बिर : सुरेश धामी

बुङ्गल समाचारदाता

बझाङ, मङ्सिर ११ गते । आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकमा रहे पनि बझाङका केही दुर्गम गाउँ अहिलेसम्म आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित छन् । 

सदरमुकाम चैनपुरबाट दक्षिणी भेगमा पर्ने बुङ्गल नगरपालिका–२ अन्तर्गत मजिउनका स्थानीयलाई सामान्य सिटामोल लिनसमेत एक दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । मजिउनका बासिन्दाले बर्सौंदेखि उपचारका लागि बुङ्गल नगरपालिका–२ को गिरौँ स्वास्थ्य चौकीमा जानु पर्छ । स्वस्थ व्यक्तिले मजिउनबाट सो चौकीसम्म पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । बिरामीले हिँडेर जान खोजे प्रायः पूरै दिन खर्चिनु परेको स्थानीय देव धामीले पीडा सुनाउनुभयो । 

गाउँमा स्ट्रेचरसमेत नभएकाले बिरामीलाई (डोकोमा हालेर) बोक्दै स्वास्थ्य चौकीसम्म पु¥याउनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवाको पहुँच नभएकाले सामान्य रोगव्याधिमा पनि स्थानीय धामीझाँक्रीकै भर पर्नु परेको उहाँको भनाइ छ । मजिउनमा हाल धामी समुदायका करिब ३० परिवार बसोबास गर्छन् ।

नजिकको अर्को बस्ती पुग्न पनि करिब पाँच घण्टा लाग्ने भएकाले एक जना बिरामीलाई बोक्नुपर्ने अवस्था आयो भने गाउँ नै खाली हुने गरेको स्थानीय अर्जुन धामीले बताउनुभयो “बिरामी बोक्नका लागि २०/२५ जनासम्म मान्छे सँगै हिँड्नु पर्छ । बोक्ने मान्छे नपुग्दा कतिपयलाई घरमै राख्नु परेको उहाँको भनाइ छ । गाउँमा प्रसूति सेवा तथा खोप केन्द्र नहुँदा महिलाले बढी समस्या भोग्नु परेको अर्को स्थानीय पुष्पादेवी धामी बताउनुहुन्छ । “व्यथा लाग्दा बोकेर लैजान स्ट्रेचर छैन । घाँस काट्ने डोकोमै हालेर दौडिनु पर्छ । कहिलेकाहीँ त बोक्ने मान्छे नै भेटिँदैन,” उहाँले भन्नुभयो । “कतिपयले बाटैमा बच्चा जन्माउँछन्, कतिपयले ज्यानै गुमाउँछन् ।”

नवजात शिशु भएपछि खोप लगाउन पनि लामो दुरी हिँड्नुपर्ने भएकाले सुत्केरी र नवजात दुवै जोखिममा पर्ने गरेको उहाँको भनाइ छ । खोप केन्द्र पुग्न दिनभर लाग्ने भएकाले धेरै बालबालिका अझै पनि नियमित खोप सेवाबाट वञ्चित रहेको अर्की स्थानीय मैना धामी बताउनुभयो । 

“खोपको महत्व बुझेकाले त हिँडेरै भए पनि गएर लगाउँछन् तर धेरैले ‘अब खोप लाएर के हुन्छ’ भनेर खोप नै लाउँदैनन् । गाउँमै खोप केन्द्र भएको भए एक जना बच्चा पनि खोपबाट वञ्चित हुनु नपर्ने उहाँको भनाइ छ । 

स्वास्थ्य चौकी टाढा भएका कारण बिरामी पर्नासाथ उपचार नपाइने, सिकिस्त भएपछि मात्र बोकेर लैजानुपर्ने बाध्यताले कतिपयको ज्यानै जाने गरेको स्थानीय नन्दा धामी बताउनुहुन्छ । मजिउनमा करिब तीन सयको हाराहारीमा जनसङ्ख्या रहेको उहाँले बताउनुभयो । मजिउन मात्र होइन, बुङ्गल नगरपालिका–२ का लौने, कलौन, बमौर तथा बुङ्गल–६ का बड्डीज्यावन, चिल्ठा, गल्लेकलगायतका बस्तीका स्थानीयले पनि यस्तै समस्या भोग्दै आएका छन् । यी गाउँबाट स्वास्थ्य चौकीसम्म पुग्न चार घण्टाभन्दा बढी पैदल हिँड्नु पर्छ ।

समस्या समाधानका लागि स्थानीयले नगरपालिका र जिल्ला तहका निकायमा पटक पटक धारणा राखे पनि सुनुवाइ नभएको उहाँहरूको गुनासो छ । चुनावका बेला दलका नेताहरू आउनुहुन्छ, सबै समस्या समाधान हुन्छ भनेर जानुहुन्छ तर चुनाव जितेर गएपछि फर्केर नआएको उहाँहरूको गुनासो छ । मजिउनबाट भोट हाल्नका लागि मतदान केन्द्र जान पनि एक दिन पैदल हिँड्नु पर्छ । यता बुङ्गल नगरपालिका–२ का वडाध्यक्ष बिरे धामीले आफू पनि सोही क्षेत्रको स्थानीय भएकाले समस्या राम्रोसँग बुझेको बताउनुभयो । 

उहाँका अनुसार हाल नगरपालिका स्रोतबाट मजिउनलाई सडक सञ्जालसँग जोड्ने कार्य अघि बढाइएको छ । गाउँमा स्वास्थ्य चौकी स्थापना गर्न जनसङख्या न्यून र लागत धेरै पर्ने भएकाले तत्काल सम्भव नभएको अध्यक्ष धामीको भनाइ छ ।