- बालबालिकाले सबै कुरा आफूले प्रत्यक्ष रूपमा गरेर अथवा आफूभन्दा ठुला व्यक्तिसँग सिक्दै जाने हो ।
- विज्ञान र प्रविधिको विकाससँगै मोबाइल प्रयोगमा आउनु राम्रो विकासको कुरा हो तर पछिल्लो समय मोबाइलको सही प्रयोगभन्दा दुरुपयोग बढदै गएको छ ।
- मोबाइलको सही प्रयोग गर्न सके फाइदै फाइदा छन् । त्यसैले मोबाइल कुन उमेर समूहसम्म चलाउन पाउने, सामाजिक सञ्जालमार्फत के के कुराहरू हेर्न पाउने, सामाजिक सञ्जालमा के के कुरा लेख्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी संरचना बनाउन आवश्यक रहेको देखिन्छ ।
आजकल बालबालिकाले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ । अभिभावकका लागि पनि बालबालिका भुलाउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावक धेरै छन् । यस्तो अभिभावकको बानीले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ । अनि अहिलेका यस्ता बानी परेका बालबालिका मोबाइलबिना केही पनि गर्न मान्दैनन् ।
धेरै मोबाइल चलाउँदा बालबालिकाको शारीरिक तथा मानसिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यसबारे अभिभावकले ध्यान दिनु जरुरी छ । बालबालिकाले धेरै मात्रामा मोबाइल चलाउँदा बालबालिकाको वृद्धि विकासमा असर पर्ने गर्छ । मोबाइल चलाउनु पनि एक खालको लत हो । जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ, मोबाइल चलाउँदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ । सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्दा खुसी बनाउने खालको हर्मोन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा खुसी हुन्छन्, बालबालिका तर लगातार मोबाइल चलाउँदा ब्रेन सुस्त हुँदै जान्छ । मोबाइल चलाउने लत लागेको बालबालिकामा विभिन्न नकारात्मक असर देखिन थाल्छन् ।
जति सानो उमेरमा मोबाइल चलायो त्यति धेरै असर भइरहेको पाइन्छ । निरन्तर मोबाइल हेरिरहँदा आँखाको दृष्टि गुम्न सक्ने, सानै उमेरमा चस्माको प्रयोग गर्नुपर्ने, राम्रोसँग हेर्न नसक्ने हुन सक्छ । आँखामा मात्रै होइन ब्रेनमा पनि असर पर्छ । बिस्तारै बालबालिकाको ब्रेनलाई सुस्त बनाइदिन्छ, जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाइल हेर्ने बानी भएको बालबालिकामा डिप्रेसन पनि हुन सक्ने सम्भावना हुन्छ, बालबालिकाका आफ्ना सिर्जित गतिविधि न्यून हुन्छन्, जसका कारण दिमाग तेजिलो हुन पाउँदैन यस्ता थुप्रै समस्या देखा पर्छन् । धेरै मोबाइल प्रयोगले साना बालबालिकालाई मात्र होइन ठुला उमेर समूहका बालबालिकामा पनि समस्या देखिने गर्छ । मोबाइलले गर्दा एक्लै बस्ने, पारिवारिक सदस्यसँग कुरा नगर्ने, एकोहोरो सोचको हुने जस्ता समस्या लामो समयसम्म देखिन सक्छन् ।
बालबालिकाले सबै कुरा आफूले प्रत्यक्ष रूपमा गरेर अथवा आफूभन्दा ठुला व्यक्तिसँग सिक्दै जाने हो । बालबालिकाको उमेर भनेको शारीरिक, मानसिक र सामाजिक रूपमा पनि विकास हुनुपर्ने समय हो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ । मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन, जसले गर्दा बालबालिकामा बोलीको विकास हुन पाउँदैन । हिँडाइमा समस्या हुन्छ । बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन । मोबाइल दिएका बालबालिका एकै ठाउँमा बसेर हेरिरहेका हुन्छन्, जुन कुराले गर्दा बालबालिका हिँड्नुपर्ने समयमा हिँड्न सक्दैनन् । एकै ठाउँमा बसेर मोबाइल हेरेर खाना खाँदा उमेर अनुसारको तौल बढी हुने अथवा कम हुने, मोटोपनको सिकार हुने, बालबालिका सामाजिक बन्न नसक्नु, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रूपमा दुब्लो हुने सम्भावना पनि हुन्छ । जुन गतिमा बालबालिकाको विकास हुनुपर्ने त्यो मोबाइल लतले एकदमै असर गर्छ ।
मोबाइलको प्रयोगका कारण बालबालिकाको आफ्नो सिर्जनशीलता नास भइरहेको पाइन्छ । बालबालिकालाई खुवाउन, भुलाउन, गृहकार्य गराउने निहुँमा बार्गेनिङ गरी मोबाइल प्रयोगले बालबालिकाको जीवन बर्बाद भइरहेको छ । सानो उमेरका बालबालिका मात्र होइन स्कुल तथा क्याम्पसमा अध्ययनरत किशोर किशोरीहरू पनि मोबाइलबिना बस्न नसक्ने र कक्षाकोठामा नै मोबाइलको प्रयोग गरिरहेका देख्न सकिन्छ । मोबाइलको प्रयोगमा नयाँ खोजमूलक कुराहरू पनि छन् तर राम्रो कामभन्दा अनावश्यक कुरा फेसबुक च्याट गर्ने, विभिन्न प्रकारका खेल खेल्ने, रातभरि अनलाइन खेल खेल्ने, नसुत्ने जस्ता दुरुपयोगसमेत भइरहेको पाइन्छ । मोबाइलको प्रयोगका कारणले बालबालिकाको भविष्य बर्बाद हुने भएको हुँदा समयमै यसको नियन्त्रणतर्फ ध्यान दिन आवश्यक रहेको पाइन्छ ।
विद्यालयमा अध्यापन गराएको विषयवस्तु विद्यार्थीले घरमा गएर दोहो¥याएर पढ्नु पर्छ । मोबाइल प्रयोगका कारण दोहो¥यार पढ्ने बानीमा कमी भइरहेको पाइन्छ । विद्यालयमा पढेको कुरा विद्यार्थीले कम्तीमा २४ घण्टाभित्र एक दुई पटक दोहो¥यार अध्ययन गर्दा सहजै रूपमा स्मरण हुन्छ । कक्षा कोठामा बस्दा त विद्यार्थीको ध्यान विषयवस्तुमा आकर्षण हुन्छ, सोधेको कुराको जवाफ दिन्छन् । केही बालबालिका विद्यालयमा मोबाइलको प्रयोग त गर्दैनन् तर विद्यालयबाट घर गइसकेपछि अभिभावकको मोबाइलमा ध्यान जाने गरेको कारण पढाएको कुरा बुझ्न सम्झन समस्या हुन सक्छ । मोबाइलको सही सदुपयोग गर्न गराउन सबैले ध्यान दिनुपर्नेे आवश्यकता छ ।
विज्ञान र प्रविधिको विकाससँगै मोबाइल प्रयोगमा आउनु राम्रो विकासको कुरा हो तर पछिल्लो समय मोबाइलको सही प्रयोगभन्दा दुरुपयोग बढदै गएको छ । मोबाइलका कारण बालबालिकामा त झनै असर परेको छ । अहिलेका बालबालिका मोबाइलबिना केही गर्न नसक्ने हुँदा राम्रोभन्दा नराम्रा कुराहरू बढी सिकिरहेका छन् । मोबाइल प्रयोगका कारणले बालबालिका डिप्रेसनको सिकार हुन सक्ने, बालविवाह बढ्न सक्ने, सामाजिक सञ्जालबाट सबै कुरा हेर्न सकिने हुँदा बालबालिका हिंसात्मक गतिविधिमा संलग्न हुन सक्ने समस्या बढ्नुका साथै सानै उमेरमा विविध विकृति फैलिनुका साथै बालबालिकाका चौतर्फी विकासमा बाधा पर्न सक्छ । मोबाइलको सही प्रयोग गर्न सके फाइदै फाइदा छन् । त्यसैले मोबाइल कुन उमेर समूहसम्म चलाउन पाउने, सामाजिक सञ्जालमार्फत के के कुराहरू हेर्न पाउने, सामाजिक सञ्जालमा के के कुरा लेख्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी संरचना बनाउन आवश्यक रहेको देखिन्छ । मोबाइल फोनको प्रयोगले बालबालिका मात्र नभई अन्य पुस्तामा पनि दिनानुदिन समस्या देखिने गरेको पाइन्छ ।
पछिल्लो समयमा मोबाइलको अत्यधिक प्रयोगले गर्दा बालबालिकामा नकारात्मक असर देखिन थालेपछि बालबालिकालाई मोबाइलबाट कसरी छुटकारा गर्न सकिन्छ भन्ने सवाल चासो र चिन्ताको विषय बनेको छ । अभिभावकले आफ्ना छोराछोरीलाई कुन उमेर समूहसम्म मोबाइलको प्रयोग गर्न दिने वा नदिने भन्ने विषयमा समयमै निर्णय गरी कार्यान्वयन गर्न नसके भविष्यमा पछुताउनुबाहेक अन्य विकल्प हुँदैन ।