• ११ मंसिर २०८२, बिहिबार

दबाबमा भारत–बङ्गलादेश सम्बन्ध

blog

सत्ताको शक्ति र उन्मादमा अतिवादी काम र घमण्ड गर्दा दुई दशक सत्ता चलाएकी शक्तिशाली प्रधानमन्त्री हसिना सत्ताबाट बहिर्गमन मात्र होइन देशै छाडेर भाग्नु परेको छ । सत्ताको चरम दुरुपयोग गर्दा उहाँले यस्तो नियति भोग्नु परेको छ । २० वर्षको अवधिमा उहाँले गरेका केही राम्रा काम ओझेलमा परेका छन् । बङ्गलादेशलाई स्वतन्त्र बनाउने उहाँका पिता एवं संस्थापक नेता सेख मुजिबुर रहमानको योगदान र सैनिक शासनविरुद्ध लोकतन्त्र स्थापना गर्न हसिना गर्नुभएको योगदान ओझेलमा परे ।

भारतले हसिनासँगको मित्रताबाट रणनीतिक लाभ लिएको छ तर राजनीतिक क्षति पनि बेहोरेको छ । दुई दशक सत्तामा हुँदा हसिनाले दिल्लीलाई उसले आफ्नो छिमेकमा चाहे जस्तै स्थिरता, कनेक्टिभिटी र हातेमालो गर्ने तत्परता देखाउनुभयो । अहिले उहाँ भारतको शरणमा हुनुहुन्छ । गत वर्षको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ताच्युत भई भारत पलायन हुनुभयो । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्यो । बङ्गलादेशमा आउँदो वर्षका लागि निर्वाचनको मिति तोकिएको छ । त्यहाँ विकसित घटनाक्रमका कारण दुई देशबिच कूटनीतिक असामञ्जस्य उत्पन्न भएको छ । ढाका हसिनालाई भारतले सुपुर्दगी गरिदेओस् भन्ने चाहन्छ तर दिल्ली त्यसो गर्न तयार छैन । यो परिस्थितिमा हसिनालाई दिइएको मृत्युदण्डको फैसला कार्यान्वयन हुन सक्दैन । भारतले मानवीय शरण भन्ठानेको विषय अब उसका लागि एउटा लामो र असहज परीक्षामा रूपान्तरित भएको छ । दिल्ली आफ्नो पुरानो सहयोगीका लागि कुन हदसम्म जान र त्यस क्रममा कति कूटनीतिक शक्ति खर्च गर्न तयार छ भनेर हेर्न बाँकी नै छ ।

आउँदो वर्ष बङ्गलादेशमा निर्वाचनपछि नयाँ सरकार बनेसँगै हसिनाका कारण जोखिम बढ्ने भए पनि भारतले यथास्थितिलाई निरन्तरता दिन सक्छ । भारतले हसिनालाई मौन बस्न अनि विज्ञप्ति जारी नगर्न वा अन्तर्वार्ता नदिन दबाब दिन सक्छ । अहिले पनि हसिना अवामी लिग पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले त्यस्तो दबाब मान्न सक्ने सम्भावना छैन अनि भारतले पनि त्यो कुरा कार्यान्वयन गराउने सम्भावना त्यति छैन ।

अर्को विकल्प भनेको हसिनालाई शरण दिने तेस्रो देश खोज्नु हो । त्यस्तो सम्भावना झन् न्यून छ । गम्भीर कानुनी समस्यामा परेका र उच्च सुरक्षा आवश्यक पर्ने हसिना जस्तो नेतृलाई शरण दिन हतपत कुनै देश पनि तयार हुँदैन । हसिनालाई बङ्गलादेशसमक्ष सुपुर्दगी गर्ने कुरा अकल्पनीय विषय हो । भारतका सत्तारूढ र विपक्षी दलहरू सबैले हसिनालाई भारतसँग निकट मित्र मान्छन् । कूटनीतिक हानि भए पनि भारत आफ्ना मित्रहरूलाई धोका नदिने कुरामा गौरव गर्छ । भारत र बङ्गलादेशबिच विद्यमान गहिरो तर असमान सम्बन्धले अहिलेको अवस्थालाई अहसज बनाइदिएको छ । बङ्गलादेशलाई स्वतन्त्र राष्ट्र बनाउन भारतको निर्णायक भूमिका थियो भन्ने कुरा स्मरणीय छ ।

दक्षिण एसियामा बङ्गलादेश भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । बङ्गलादेशका लागि भारत सबैभन्दा ठुलो बजार हो । गत वर्ष दुई देशबिच १३ अर्ब अमेरिकी डलरको व्यापार भयो । त्यसमा बङ्गलादेशले ठुलै व्यापार घाटा बेहो¥यो । बङ्गलादेश भारतीय कच्चा पदार्थ, ऊर्जा र पारवहन मार्गमा निर्भर हुँदै आएको छ । भारतले विगत एक दशकमा बङ्गलादेशलाई आठदेखि १० अर्ब डलरको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरेको छ । केही वस्तुमा भन्सार छुट दिएको छ । दुई देशको भूमिलाई जोड्ने गरी रेल्वे मार्ग बनाएको छ अनि भारतीय ग्रिड र बन्दरगाहबाट बिजुली एवं तेल र एलएनजी आपूर्ति गरेको छ । दुवै पक्ष यस्तो सम्बन्धबाट त्यति सजिलै टाढिन सक्दैनन् । भारत र बङ्गदेशबिच जटिल अन्तरनिर्भरता छ । दुवै एकअर्कामा पानी, बिजुली र अन्य कुरामा भर पर्छन् । भारतीय सहकार्यबिना चल्न बङ्गलादेशलाई सजिलो छैन । यद्यपि केही विश्लेषक प्राध्यापक मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गलादेशको परराष्ट्र सम्बन्धलाई सन्तुलनमा राख्ने प्रयास थालेको ठान्छन् । युनुसले आफ्नो कार्यकालका प्रारम्भिक महिनामा बङ्गादेशको परराष्ट्र नीतिलाई भारतमुक्त गर्ने उद्देश्यसहित कूटनीतिक गतिविधि बढाउनुभयो । बङ्गलादेश कुनै बेला सबै क्षेत्रीय मञ्चमा भारतसँगै उभिने गथ्र्यो । अहिले उसले भारतसँग हुने न्यायिक आदानप्रदान स्थगित गरिदिएको छ । भारतसँग गरिएका ऊर्जासम्बन्धी सहमतिमा पुनरवलोकन गर्न खोजेको छ । भारतको नेतृत्वमा सुरु भएका कनेक्टिभिटी परियोजनाहरूको गति कम पारेको छ अनि ऊ रणनीतिक साझेदारीका लागि खुलेरै बेइजिङ, इस्लामावाद र अङ्कारातिर ढल्किएको छ । यसलाई धेरैले कुनै बेला भारतको सबैभन्दा विश्वसनीय छिमेकी राष्ट्र बङ्गलादेश अब भारतसँग मात्र निर्भर हुन चाहँदैन भन्ने सन्देश मानेका छन् ।

बङ्गलादेशका सर्वसाधारण मानिसमा पनि धारणा परिवर्तन भएको स्पष्ट देख्न थालिएको छ । ढाकास्थित सेन्टर फर अल्टर्नेटिभ्सले गरेको एउटा सर्वेक्षणमा ७५ प्रतिशतभन्दा बढी बङ्लादेशीले चीनसँगको सम्बन्धलाई सकारात्मक रूपमा हेरेको तर भारतसँगको सम्बन्धको पक्षमा ११ प्रतिशत मानिस मात्र भएको देखिएको छ । यो परिणामले गत वर्ष भएको विद्रोहको भावनालाई प्रतिविम्बित गर्छ । धेरै बङ्गलादेशी भारतको समर्थनका कारण हसिना निरङ्कुश बनेको र भारत बङ्गलादेशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने देश भएको ठान्छन् ।

सतहमा यी कुरा आए पनि राजनीतिक परिस्थितिभन्दा दीर्घकालीन व्यापारिक र सांस्कृतिक सम्बन्ध बढी बलियो हुन्छ । भारतसँग त्यति मित्रवत् नमानिएको बङ्गलादेश नेसनलिस्ट पार्टी र जमात–‍ए–इस्लामीको गठबन्धनको सरकार हुँदा सन् २००१ देखि २००६ सम्म भारत र बङ्गलादेशबिचको व्यापार बढेको तथ्याङ्कले देखाउँछ । सरकारमा परिवर्तन हुँदा कूटनीतिक र राजनीतिक सम्बन्ध प्रायजसो तलमाथि पर्छ तर आर्थिक, सांस्कृतिक र खेलकुदको सम्बन्ध लगभग स्थिर रहन्छ । नयाँ सरकार भारतसँग त्यति मैत्रीपूर्ण भएन भने पनि त्यसले स्वतः व्यापार वा बृहत्तर सम्बन्धलाई खलबल्याउने भन्ने हुँदैन । दिल्लीका लागि राजनीतिक अवसान खेप्न बाध्य र भारत निर्वासनमा रहेका आफ्ना पूर्वसाझेदारका सम्बन्धमा कस्तो व्यवहार गर्ने भन्ने चुनौती मात्र नभई आफ्नो सुरक्षाका लागि ठुलो महत्व राख्ने छिमेकी देशसँगको सम्बन्ध कसरी बिग्रिन नदिने भन्ने पनि छ ।

भारतले हसिनाको विषयमा हतारमा निर्णय गर्नु हुँदैन । बरु भारतले ढाकास्थित मुख्य राजनीतिक पक्ष र सशस्त्र फौजसँग शान्त र संयमित छलफल गर्नुपर्ने छ । तत्काल समाधान फेला नपरे पनि कूटनीतिले तनाव बढ्न नदिन यसले सघाउँछ । यद्यपि एक–डेढ वर्ष दुई देशबिचको सम्बन्ध तनावपूर्ण रहने सम्भावना छ । अन्तरिम सरकारले विश्वसनीय रूपमा निर्वाचन गराउन सक्यो र निर्वाचित सरकार सत्तामा आयो भने त्यसले दुई देशबिच फेरि सम्बन्ध सुधार गर्ने र क्षति घटाउने बाटो खोलिदिन सक्छ । अहिलेको अन्योलका कारण दिल्ली केवल तात्कालिक रणनीतिक कदमबारे मात्र नभई छिमेकीसँगको सम्बन्धका सन्दर्भमा दीर्घकालीन सिद्धान्तमा पनि विचार गर्न बाध्य भएको छ । भारत अहिले बङ्गलादेशको आन्तरिक राजनीतिमा नियन्त्रण कायम गर्न सक्दैन । त्यो समस्यायुक्त र निकै विभाजित छ अनि नाजुक संस्थाहरूको जगमा उभिएको छ । त्यस्तो गहिरो राजनीतिक फाटो भारतले मेटिदिन सक्छ भन्ने निश्चित छैन । धेरै कुरा बङ्गलादेशमा अब बन्ने सरकारमा निर्भर हुने छ । बङ्गलादेशको अर्को सरकारले हसिनाको विषयमा द्विपक्षीय सम्बन्धलाई कति प्रभावित पार्न खोज्छ भन्ने महत्वपूर्ण हुन्छ । उसले यही विषयलाई मात्र ठुलो बनाइराख्यो भने अगाडि बढ्न सहज हुने छैन । नयाँ सरकारले आन्तरिक राजनीति र भारतविरोधी जनभावनासँग सीमा सुरक्षा, व्यापार र कनेक्टिभिटी जस्ता बङ्गलादेशको हितसँग जोडिएका मुख्य विषयबिच सन्तुलन कायम गर्नु पर्छ । हसिना प्रकरणले सम्बन्ध नै बिग्रिने गरी गम्भीर सङ्कट उत्पन्न हुन्छ जस्तो नभए पनि सम्बन्ध निकै संवेदनशील भने रहने छ । 

सत्ताको शक्ति र उन्मादमा अतिवादी काम र घमण्ड गर्दा दुई दशक सत्ता चलाएकी शक्तिशाली प्रधानमन्त्री हसिना सत्ताबाट बहिर्गमन मात्र होइन देशै छाडेर भाग्नु परेको छ । सत्ताको चरम दुरुपयोग गर्दा उहाँले यस्तो नियति भोग्नु परेको छ । २० वर्षको अवधिमा उहाँले गरेका केही राम्रा काम ओझेलमा परेका छन् । बङ्गलादेशलाई स्वतन्त्र बनाउने उहाँका पिता एवं संस्थापक नेता सेख मुजिबुर रहमानको योगदान र सैनिक शासनविरुद्ध लोकतन्त्र स्थापना गर्न हसिना गर्नुभएको योगदान ओझेलमा परे । रहमानको हत्या गरिएको थियो भने हसिनालाई मृत्युदण्डको फैसला सुनाइएको छ । 

सन् २०२४ मा सरकारी जागिरमा रहेको विभेद र अन्यायपूर्ण कोटा प्रणालीविरुद्ध विद्यार्थीले चलाएको आन्दोलनमा चर्को सरकारी दमन भई १४ सय जनाको ज्यान गएसँगै हसिना अगस्त ५ मा सत्ताच्युत भई भारत पलायन हुनुभयो । बङ्गलादेश सन् १९७१ हसिनाका पिता एवं बङ्गलादेशका संस्थापक नेता रहमानको अगुवाइमा पाकिस्तानबाट स्वतन्त्र भएको थियो । देश स्वतन्त्रता हुने क्रममा भएको सङ्घर्षमा करिब २५ लाख मानिसको ज्यान गएको थियो । 

सन् १९४७ को २८ सेप्टेम्बरमा जन्मिएकी ७८ वर्षीया हसिनाले सन् १९६७ मा वाजेद मियाँसँग बिहे गर्नुभयो । उहाँका पिता रहमानले सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्नुभयो र स्वतन्त्रतापछि उहाँ प्रधानमन्त्री बन्नुभयो । सन् १९७५ को १५ अगस्तमा सैनिक ‘कु’ हुँदा ढाकामा रहमानसहित परिवारको हत्या भयो । त्यति बेला हसिना तत्कालीन पश्चिम जर्मनी भएका कारण बाँच्न सफलता मिल्यो । उहाँ सन् १९७५ मा भारत आउनुभयो र छ वर्षसम्म भारतमै बस्नुभयो । सन् १९८१ मा हसिनालाई अवामी लिग पार्टीले अध्यक्ष बनाएसँगै उहाँ राजनीतिमा सक्रिय हुनुभयो । सुरुका दिनमा उहाँले देशमा लोकतन्त्र स्थापनाका लागि सङ्घर्ष गर्नुभयो । उहाँले बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियासँग मिलेर आन्दोलन गर्नुभयो । दुई नेतृको अगुवाइमा सन् १९९० मा भएको आन्दोलनले बङ्गलादेशमा हुसेन मोहम्मद एर्सादको सैनिक शासन अन्त्य भई लोकतन्त्र स्थापना भयो । 

लोकतन्त्र स्थापित भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासन सत्ता चलाउनुभयो । हसिना सन् १९९६ मा चुनाव जितेर पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । त्यसको पाँच वर्षपछि भने उहाँ जियासँग पराजित हुनुभयो । जसका कारण सन् २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री बन्नुभयो । सन् २००८ को डिसेम्बर २९ मा भएको चुनाव अवामी लिगले भारी मतले जितेपछि हसिना पुनः प्रधानमन्त्री बन्नुभयो । सन् २००९ यता उहाँ लगातार चार पटक सत्तामा रहनुभयो । विपक्षी र आफ्ना विरोधीलाई दमन गर्दै हसिनाले पछिल्ला चार कार्यकाल एकछत्र शासन गर्नुभयो । उहाँले राजनीतिक स्थिरता दिएका कारण मुलुकको अर्थतन्त्रमा त सुधार भयो तर आमजनतामा बढेको निराशा र आक्रोशले उहाँको राजनीतिक अवसान भयो । 

  

Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।