• २८ वैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशको बजेट खर्च ५६ प्रतिशत

blog

छवि पाण्डे

बुटवल, असार २३ गते । चालू आर्थिक वर्ष पूरा हुन अब १० दिन मात्र बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र छ ।     प्रदेश सरकारले आव २०७८÷७९ को जेठ मसान्तसम्म कुल बजेटको ४५.३३ प्रतिशत बजेट खर्च गरेको थियो । 

खर्च रकम अहिलेसम्म ५५ दशमलव ८० प्रतिशत पुगेको छ, जसमा चालूतर्फ ६७ दशमलव ५१ प्रतिशत र पुँजीगततर्फ ५४ दशमलव ३९ प्रतिशत रहेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपियाँको बजेट पारित गरेको छ । यसमा २२ अर्ब ८५ करोड ५१ लाख रुपियाँ मात्रै खर्च भएको लुम्बिनी प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

आर्थिक वर्षको अन्त्यतिर आएपछि प्रदेश सरकारको खर्चको दर पनि बढ्दै गएको छ । प्रदेश सरकारले पछिल्लो २० दिनको अवधिमा १० दशमलव ४७ प्रतिशत बजेट खर्च गरेको छ । बाँकी रहेको १० दिनमा प्रदेश सरकारले थप १० प्रतिशत खर्च गर्ने अनुमान गरिएको छ । असार मसान्त नजिक आउँदै गर्दा खर्चको दर पनि बढ्दै गएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

कुल खर्चमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सबैभन्दा कम २ दशमलव ६७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ भने सबैभन्दा धेरै स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले ७७ दशमलव ३ प्रतिशत बजेट खर्च गरेको छ । 

गत अर्थिक वर्ष भने प्रदेश सरकारले बजेटको करिब ९० प्रतिशत खर्च गरेको थियो । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश सरकारले चालू आर्थिक वर्षको असोजमा प्रतिस्थापन बजेट ल्याउँदा खर्चमा ढिलाइ भएकाले बजेट खर्चमा कमी आएको बताउनुभयो । विकास निर्माणका काममा मात्र नभई प्रदेश सरकारले तालिम, गोष्ठीजस्ता कार्यक्रममा पनि ठूलै रकम विनियोजन गरिएको थियो । अहिले दैनिकजसो त्यस्ता कार्यक्रम भइरहेका छन् ।