• २ मंसिर २०८२, मङ्गलबार

एनपिएल : चितवनको विजयी सुरुवात

blog

रन बटुलेपछि चितवनका खेलाडी । तस्बिर : एनपिएल

काठमाडौँ, मङ्सिर २ गते । चितवन राइनोजले दोस्रो संस्करणमो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो । 

जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । रोमाञ्चक यससँगै चितवनले गत संस्करणमा कर्णालीसँग दुई खेलमा हारेको बदलासमेत लिएको छ । 

चितवनका लागि रवि वोपराले ५२ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै दीपक बोहराले ४२, सैफ जइफले अविजित ३८, कप्तान कुशल मल्लले २० र अर्जुन साउदले अविजित आठ रन जोड्नुभयो । बलिङमा कर्णालीका सोमपाल कामीले दुई तथा युनिस सिंह, युवराज खत्री र मार्क वाटले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो ।

कर्णालीका लागि भारतीय ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपनि टोलीको हार टरेन । 

पान्चालले ४८ बलमा सात चौका र छ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको थियो। यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाउनुभयो ।

बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्विरले एक एक विकेट लिनुभयो । अलराउन्ड प्रदर्शन गर्नुभएका रवि बोपरा प्लेयर अफ दि म्याच हुनुभयो । जितसँगै चितवनले दुई अङ्क बनाएको छ । कर्णालीले हारबाट एनपिएलको सुरुवात गरेको छ । 

एनपिएल अन्तर्गत मङ्गलबार नै अर्को डे-नाइट खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।  विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व  कुशल भुर्तेलले सम्हाल्नु भएको छ ।