• २९ कात्तिक २०८२, शनिबार

युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताउनुभएको छ । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

कार्यक्रमको सम्बोधनका क्रममा भन्नुभयो, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ।’

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उहाँले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यहरूमा आधारित साझेदारीको स्मरण गर्नुभयो ।

अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थन मूल्यवान् रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । 

नेपाल र अस्ट्रेलियाका बीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उहाँले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौंदेखिको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, ‘नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ। शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ।’

नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उहाँले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपालले क्षेत्रीय तथा विश्व शान्ति र स्थिरतालाई अत्यन्त महत्त्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्दछ।’

हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ।’


पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उहाँले प्रशन्नता पनि व्यक्त गर्नुभयो। ‘अस्ट्रेलियासँगको बढ्दो व्यापार र लगानीका लागि हामी कृतज्ञ छौँ,’ उहाँको भनाइ थियो, ‘नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्तति हुने लक्ष्य पूरा गर्न द्रुतगतिले अघि बढिरहेको छ। यस महत्त्वाकांक्षी राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रदान भइरहेको अस्ट्रेलियाको निरन्तर सहयोग हामी कृतज्ञतासाथ स्वीकार गर्छौँ।’

नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिनुभएको योगदानप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाँको समर्पण तथा व्यक्तिगत संलग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताउनुभयो।

कार्यकाल समाप्त भई अस्ट्रेलिया फर्कँदै गर्दा आगामी जिम्मेवारी सफल एवं सार्थक हुन सकून् भन्दै राजदूत जोन्स्टनलाई शुभकामना पनि दिनुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, नेपाल–अस्ट्रेलिया मैत्रीपूर्ण सम्बन्धलाई निरन्तर समर्थन गरिरहनुहुनेछ भन्ने आशा गर्दछु। नेपाल र अस्ट्रेलियाबीचको मित्रता पुस्तौँ–पुस्तासम्म अझ प्रगाढ र समृद्ध बन्दै जाओस्।’