• १६ वैशाख २०८३, बुधबार

सुकुमवासीको लगत सङ्कलन धमाधम

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १६ गते । सरकारले भूमिहीन सुकुमवासीलाई दीर्घकालीन रूपमा व्यवस्थापनका लागि विस्तृत अध्ययन र विवरण सङ्कलन गरिरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका नदी र खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गरी त्यहाँ बसोबास गरिरहेका भूमिहीन नागरिकलाई बसोबासको प्रबन्ध गर्न लगत सङ्कलन कार्य अघि बढाएको हो । 

काठमाडौँका सुकुमवासी बस्ती खाली गरेपछि घरविहीन भएका नागरिकलाई सहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिकाको समन्वयमा व्यवस्थापन गरिँदै छ । प्राधिकरणका विकास आयुक्त जानुका ढकालका अनुसार वैशाख १२ देखि १५ गते मङ्गलबारसम्ममा एक हजार १३६ घरधुरीले दशरथ रङ्गशालास्थित विवरण सङ्कलन केन्द्रमा आएर नामाङ्कन गरेका छन् । जसमा चार हजार ८०४ जना रहेका छन् । 

सरकारको सम्पर्कमा आएका चार हजार ८०४ मध्ये ५६४ जनालाई सरकारले व्यवस्थापन गरेको छ । विकास आयुक्त ढकालले वैशाख १२ गते १८१ घरधुरीका ८५० जना सम्पर्कमा आएको जानकारी दिनुभयो । जसमध्ये ३३ परिवारका १४७ जनालाई कीर्तिपुरस्थित राधास्वामी सत्सङको भवनमा राखिएको छ । उहाँले भन्नुभयो, “सोही दिन सम्पर्कमा आएका १९३ जनालाई होटेलमा व्यवस्थापन गरिएको छ । अन्यले आफ्नो व्यवस्थापन आफैँ गर्ने भनेर जानुभयो ।”

विकास आयुक्त ढकालले वैशाख १३ गते ३९० घरधुरीका एक हजार ५७० जना सम्पर्कमा आएको र १४७ जनाको होटेलमा व्यवस्थापन गरिएको तथा वैशाख १४ गते ३६५ घरधुरीका एक हजार ५३५ जना सम्पर्कमा आएको र ६७ जनालाई होटेलमा व्यवस्थापन गरिएको र मङ्गलबार सम्पर्कमा आएकामध्ये १० जनालाई होटेलमा व्यवस्थापन गरिएको बताउनुभयो । 

सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरमा अव्यवस्थित बस्ती विस्तार गरेर बागमती नदीसहित अन्य खोला किनारमा गरिएको अतिक्रमण हटाउने अभियान अघि बढाउँदै त्यहाँबाट विस्थापित नागरिकलाई अल्पकालीन आवासको प्रबन्ध गरिएको छ । विकास आयुक्त ढकालले भन्नुभयो, “सम्पर्कमा आएका सबै वास्तविक भूमिहीन हुन् कि होइनन् भन्ने अध्ययन हुन्छ । त्यसपछि वास्तविक भूमिहीन नागरिकको पहिचान गरी नागार्जुन नगरपालिकास्थित इचङ्गुनारायणमा निर्मित एकीकृत आवास आयोजनाको भवन र अन्य स्थानमा राखिने छ ।” 

सरकारले काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली, वडा नं. ९ स्थित गैरीगाउँ, सिनामङ्गल र महानगरकै वडा नं. ३१ स्थित शान्तिनगर र भक्तपुर मध्यपुरठिमी नगरपालिका–१ स्थित मनोहरा खोला किनारको अव्यवस्थित बस्ती खाली गराएको छ । कागेश्वरी मनोहरासहित अन्य क्षेत्रमा बस्दै आएका सुकुमवासीलाई व्यवस्थापन गर्ने र अतिक्रमणमा परेको जग्गा खाली गराउने कार्य सरकारले अघि बढाउँदै छ । काठमाडौँ र भक्तपुरमा गरी ९४१ भन्दा धेरै घरटहरा भत्काएर अतिक्रमित बस्ती खाली गराइएको छ । गैरीगाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका पक्की घर पनि मङ्गलबार भत्काइएको छ । 

सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उपनिर्देशक, सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी उद्धव नेपालले काठमाडौँ, भक्तपुर र ललितपुरमा नदीखोला किनारमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा बस्दै आएको जानकारी दिनुभयो । तिनै जिल्लाका पालिकाका २७ वडामा अव्यवस्थित छन् । काठमाडौँ महानगरमा दुई हजार २४५, कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठ नगरपालिकामा १५६, ललितपुर महानगरपालिकामा १७ र भक्तपुरमा ७७३ घरटहरा अव्यवस्थित रूपमा रहेका छन् ।